हेटौंडाः हेटौंडा–१९ बस्तिपुरमा रहेको निर्मल माध्यमिक विद्यालयमा अध्ययन गर्ने ३५ जना विद्यार्थीको आवासीय सुविधासहितको लागि दिगो विकासका लागि एकता नेपालले विद्यालयलाई साढे सात लाख रुपैयाँ सहयोग गरेको छ ।
३ वर्षे इलेक्ट्रीकल डिप्लोमा अध्ययनरत २ जनासहित कक्षा ११ मा शिक्षा तथा व्यवस्थापन संकायमा अध्ययनरत ३५ जनाको पूर्ण आवासीय सुविधाको लागि विकासका लागि एकता नेपालले ७ लाख ५१ हजार ३ सय ६९ रुपैयाँ विद्यालयलाई दिएको विद्यालयका प्रिन्सिपल प्रबोध बिडारीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो त्रैमासिक रुपमा सो रकम प्राप्त भएको हो ।
निर्मल माविमा ४० जना विद्यार्थीहरु पूर्ण आवासीयको सुविधासहित अध्ययनरत छन् । विशेष गरेर राक्सिराङ गाउँपालिकाको राष्ट्रिय मावि सिलिङ्गेबाट एसईई पास गरेर आएका चेपाङ तथा तामाङ विद्यार्थी ३५ जनालाई दिगो विकासको लागि एकता संस्थाले आवासीय सुविधा दिएको हो । संस्थाकै सहयोगमा कक्षा १० सम्मको अध्ययन यसअघि उनीहरुले पाएका थिए ।
निर्मल माविमा इलेक्ट्रिक डिप्लोमामा ९२ जना, कक्षा ११ मा ३ सय ५० जना र कक्षा १२ मा २ सय २० जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल बिडारीले बताउनुभयो ।