कार्यक्रममा सहभागीहरु

हेटौंडाः सिविन नेपालको आयोजनामा साइबर अपराध तथा अनलाइन यौन दुव्र्यवहारको विषयमा सरोकार निकायबीच अन्तरक्रिया कार्यक्रम भएको छ । माधव लोहनीले साइबर अपराधसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । लोहनीले साइबर अपराध सामाजिक सञ्जालमा बढिरहेको बताउनुभयो ।

बालबालिकाले सामाजिक सञ्जालको सुरक्षित प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । २०७५/०७६ मा ३ सय ५७ जना, २०७६/०७७ मा २ हजार ३ सय १ जना र २०७७/०७८ सालमा ४ हजार ९ सय ६ जना बालबालिका सामाजिक सञ्जालको दुरुपयोगबाट पीडित भएको बताउनुभयो । साइबर अपराध अनुसन्धानमा विद्युतीय सामग्रीहरु सजिलै बिग्रने प्रकृतिको हुँदा समस्या हुने गरेको छ । सजिलैसँग नष्ट र थपघट गर्न नसक्दा समस्या हुने गरेका छन् । यसैगरी पहुँच राख्दामात्रै पनि परिवर्तन हुने र सिमा दायरा नहुँदा साइबर अपराध अनुसन्धानमा समस्या हुने गरेका छन । प्रयोगकर्ताको असावधानी, प्रविधिको तिव्र विकास र पर्याप्त तालिम प्राप्त जनशक्तिको अभावले साइबर अपराधमा बालबालिका संलग्न भएको लोहनीले बताउनुभयो ।

यसैगरी बालबालिकामाथिको अनलाइन यौन दुव्र्यवहारबारे अञ्जली शाक्यले प्रशिक्षण प्रदान गर्नुभएको थियो । ९ वर्षदेखि १९ वर्षका बालबालिकाको बीचमा गरिएको अनुसन्धानमा ५ सय जनामध्ये ११ जनामा अन्जान व्यक्तिहरुबाट अनलाइन यौन दुव्र्यवहार भएको शाक्यले जानकारी दिनुभयो । २५ प्रतिशत भने चिनजानकै व्यक्ति तथा समाजबाट नै यौन दुव्र्यवहार भएको बताउनुभयो । ४ जना बालबालिकामा ३ जनालाई ‘ब्ल्याकमेल’ गरिएको उहाँले बताउनुभयो । जसमा मन जितेका तथा विश्वास गरेका व्यक्तिबाट नै धोका पाउँदा बालबालिकाले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।

साथीहरुलाई कतिपयले आफ्ना कुरा सेयर गरेको पाए पनि यस्ता गोप्य कुराहरु न परिवारमा सेयर हुन्छ, न साथीमा । जसकारण मानसिक तनाव बालबालिकामा हुने गरेको बताउनुभयो । पारिवारिक माया र प्रेमको अभावका कारण बालबालिकाका सामाजिक सञ्जालमा सक्रिय बढेकाले अभिभावकको ध्यानाकर्षण हुन आवश्यक रहेको बताउनुभयो । बालकल्याण समाजका संयोजक प्रकाश खतिवडाले हेटौंडाका पुरुषसँग चितवनका लगभग १४ वर्षका किशोरी नै प्रेम सम्बन्धमा रहनुले यौनजन्य क्रियाकलापमा बालबालिकाको सक्रियता बढ्ने खतरा रहेको बताउनुभयो । सिविनले बालविवाह रोक्ने प्रयास गर्दा तस्वीरहरु सामाजिक सञ्जालमा आदानप्रदान गरिने पाइएको बताउनुभयो ।

प्रेम सम्बन्धमा रहेका बालबालिकालाई छुट्याउने प्रयत्न गरिँदा आत्महत्याको बाटो रोजेको घटना बढ्दै गएको हेटौंडा उपमहानगरपालिका बालबालिका तथा महिला शाखाका प्रमुख विष्णु न्यौपानेले बताउनुभयो । कार्यक्रममा विद्यालय, स्थानीय सरकार र बालबालिकाको समन्वयमा तथ्यांकमा मात्र सिमित नराखी न्यूनीकरण गरिनुपर्नेमा जोड दिएको थियो । सिविनका संयोजक झविन्द्र ज्ञवाली, सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेललगायतको उपस्थिति रहेको थियो ।