हेटौंडाः विजया दशमी २०७८ को अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नं. ९ मा टोलस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । मकवानपुर बेरोजगार युवा संगठनको आयोजनामा शुक्रबारबाट टोलस्तरीय फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु भएको हो ।

असोज २० गतेसम्म आयोजना हुने प्रतियोगितामा शुक्रबार उद्घाटन खेलसहित २ खेल भएको छ । उद्घाटन खेलमा प्रतियोगिताको साविक विजेता शान्तिचोक टोल विकास संस्था ‘ए’ ले फराकिलो जित हात पारेको छ । मदन टोल विकास संस्थालाई ४–० गोलअन्तरले पराजित गर्दै शान्तिचोक ‘ए’ ले प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो । शान्तिचोक ‘ए’ को जीतमा विमल घलानले २ गोल गरेका थिए भने संगम लामा र विशाल घलानले १-१ गोल गरेका थिए । म्यान अफ दि म्याच २ गोलकर्ता विमल घोषित भए ।

शुक्रबार नै भएको दोस्रो खेलमा धाप टोल विकास संस्था विजयी भएको छ । लामसुरे हाइट टोल विकास संस्थालाई ट्राइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै धाप टोल विजयी भएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ दि म्याच धापका गोलरक्षक सरोज थापा मगर घोषित भए ।

प्रतियोगिताअन्तर्गत शनिबार ५ खेल हुँदैछ । शनिबारको पहिलो खेलमा स्वागत टोलले धर्मपथको सामना गर्दैछ भने दोस्रो खेल कुष्माण्ड टोल र शान्तिचोक ‘बी’ बीच हुने जनाइएको छ । तेस्रो खेल माल्दिभ्स टोल र त्रिवेणी टोलबीच, चौथो खेल सन्तोषी टोल र मिलन टोल तथा पाँचौं खेल प्रगतिशील टोल र ओम टोलबीच हुने आयोजकले जानकारी दिएको छ ।

१८ वटा टोलको १९ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ तथा तेस्रो हुने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । यस्तै प्रतियोगितामा विधागत पुरस्कारहरुको समेत व्यवस्था गरिएको मकवानपुर बेरोजगार युवा संगठनका अध्यक्ष सुरेश मिजारले जानकारी दिनुभयो ।