तस्बीरः गुगल ।

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले गत फागुनमा आयोजना गरेको शहीद स्मृति तेस्रो अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको हिसाब सार्वजनिक गरेको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गरेर फुटबबल प्रतियोगिताको सम्पूर्ण हिसाबकिताब सार्वजनिक गरेको हो ।

प्रतियोगिताबाट संघले ११ लाख ५९ हजार ७ सय ६६ रुपैयाँ बचत गरेको छ । प्रतियोगिताका लागि जिल्लाका १० वटै पालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, गेट टिकट तथा व्यक्तिगत र संस्थागतरुपमा संकलित सहयोग गरी कुल ८१ लाख ३७ हजार ६ सय ९२ रुपैयाँ आम्दानी गरेकोमा ६९ लाख ७७ हजार ९ सय २६ रुपैयाँ खर्च भएको प्रतियोगिताको संयोजक प्रताप विष्टले जानकारी दिनुभयो । प्रतियोगिता आयोजना गर्दाको भुक्तान गर्नुपर्ने बिलहरु बाँकी रहेको र कोरोना संक्रमणका कारण पनि प्रतियोगिता सम्पन्न भएको ७ महिनापछि मात्र हिसाब सार्वजनिक गर्न सकिएको उहाँको भनाई छ ।

मकवानपुर जिल्ला फुटबल संघले यस वर्ष आयोजना हुने मकवानपुर गोल्डकपको चौथो संस्करण माघ महिनामा नै आयोजना गर्ने तयारी भइरहेको संघका अध्यक्ष टीकाराम लामाले बताउनुभएको छ । एन्फाको क्यालेन्डरअनुसार यसपटक राष्ट्रिय लिगका कारण ए डिभिजन क्लबहरु निकै नै व्यस्त हुने भएकाले माघ महिनामा हुने ब्रेक टाइममा मोफसलका प्रतियोगिताहरु आयोजना गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । जसअन्तर्गत् मकवानपुर गोल्डकप पनि माघमा आयोजना गर्नेगरी एन्फाको क्यालेन्डरमा राख्न एन्फालाई अनुरोध गरिएको उहाँको भनाई छ ।

गोल्डकप आयोजना गर्दा अस्थायी प्याराफिट निर्माण तथा मैदान मर्मतमा धेरै नै खर्च आइरहहेकाले आगामी गोल्डकप सम्भव भएसम्म गौरीटार रंगशाला अथवा हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा आयोजना गर्ने तयारी रहेको पनि अध्यक्ष लामाले बताउनुभएको छ । क्याम्पामा स्थायीरुपमा प्याराफिट निर्माणको काम भइरहेकाले पनि माघसम्ममा निर्माण सम्पन्न भए त्यहीँ प्रतियोगिता आयोजना गरिने उहाँको भनाई रहेको छ । जसबाट अस्थायी प्याराफिट बनाउने खर्च बच्ने र सो कारण दर्शकहरुलाई टिकट सस्तो पर्ने तथा टिकटबाट प्राप्त रकम सोही रंगशाला निर्माणमा सहयोग गर्न सकिने पनि उहाँले बताउनुभयो ।

आगामी गोल्डकपको उपाधि राशि पनि वृद्धि भएको फुटबल संघले जनाएको छ । हेटौंडाका मेयर हरिबहादुर महतको पूर्वघोषणा अनुसार उपमहानगरपालिकाबाट प्रदान गरिने सहयोग रकममा वृद्धि गरिएका कारण उपाधि राशिमा वृद्धि भएको हो । आगामी गोल्डकपमा उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ला फुटबल संघका महासचिव युनाल मल्ल लगायतको उपस्थिति रहेको थियो ।