हेटौंडा उपमहानगरसँगको सम्झौताबारे गणेश थापाले फेसबुकमार्फत गराएको जानकारी ।

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष हुँदा पदको दुरुपयोेग तथा आर्थिक अनियमितताको आरोपमा दोषी ठहर्‍याउँदै विश्व फुटबल महासंघ (फिफा) ले प्रतिवन्ध लगाएको गणेश थापासँग हेटौंडा उपमहानगरपालिकाले फुटबलको विकासका लागि भन्दै २५ लाख रुपैयाँ दिने सम्झौता गरेको छ । गणेश थापासम्वद्ध नेपाल स्पोर्टस अर्गनाइजेसनसँग मंगलबार हेटौंडा उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले नगर सभाबाट चालु आर्थिक बर्षको बजेट पारित गर्ने क्रममै गणेश थापासम्वद्ध संस्थासँग साझेदारी गर्ने निर्णय गरेको हो । विश्व फुटबलको सर्वोच्च संस्थाले नै प्रतिवन्ध लगाएको व्यक्तिसँग कसरी सम्झौता भयो भन्ने जिज्ञासामा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले गणेश थापामाथिको प्रतिवन्धबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

सम्झौतापछि हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र गणेश थापा ।

यसअघि नै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकार सम्मेलन गरेरै गणेश थापासँगको साझेदारीमा हेटौंडामा फुटबल एकेडेमी सञ्चालन गर्ने विषयमा जानकारी गराउने तयारी गर्नुभएको थियो । फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी फिफाले प्रतिवन्ध लगाएको व्यक्तिसँग स्थानीय सरकारले सम्झौता गर्नु उचित नहुने भन्दै आलोचना हुने देखिएपछि मेयर महतले सम्झौताको कार्यक्रम स्थागित गर्नुभएको थियो ।

मंगलबार भएको सम्झौताको विषय पनि गणेश थापाले आफ्नो फेसबुकमार्फत जानकारी गराउनुभएको छ । थापाले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृतलाई धन्यवाद ज्ञापन गर्दै सम्झौताबारे जानकारी गराउनुभएको हो । सम्झौताको विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने पनि थापाले उल्लेख गर्नुभएको छ ।

फिफाले २०७२ साल कात्तिक ३० गतेका दिन गणेश थापालाई १० वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।