विद्यालय क्षेत्रमा सरसफाई गरिँदै ।

हेटौंडाः हेटौंडा–१५, रातोमाटेस्थित चुरियामाई युवा सञ्जालको आयोेजनामा स्थानीय जनजागृति माध्यमिक विद्यालय क्षेत्रमा शुक्रबार सरसफाई गरिएको छ । ग्रामीण महिला सेवा केन्द्रको सहजीकरणमा युवा सञ्जालको स्थापना भएको हो ।

सरसफाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपकलाल खतिवडा, ग्रामीण महिला सेवा केन्द्रले सञ्चालन गरिरहेको नेतृत्व र निर्णय परियोजनाअन्तर्गत परिवर्तनका संवाहक कार्यक्रम व्यवस्थापन समितिका सदस्य केशव सञ्जेल पनि सहभागी हुनुहुन्थ्यो । सञ्जालकी उपाध्यक्ष प्रकृति मोक्तानको संयोजकत्वमा सरसफाई कार्यक्रम भएको ग्रामीण महिला सेवा केन्द्रकी सामाजिक परिचालक सरस्वती योञ्जनले जानकारी दिनुभयो । सरसफाई कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीको पनि सहभागिता रहेको थियो ।

किशोरकिशोरीको व्यक्तित्व, नेतृत्व क्षमता विकास गर्नुका साथै जिवनोपयोगी सीप विकासका लागि सहजीकरण गर्ने गरी सञ्चालित परियोजनाले किशोरकिशोरीलाई सामाजिक सेवाको क्षेत्रमा पनि अग्रसर गराउँदै आएको छ । चुरियामाई युवा सञ्जालले वडा कार्यालयसँगको सहकार्यमा मास्कको प्रयोगसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै मास्क वितरणको कार्यक्रम गर्ने योजना बनाएको उपाध्यक्ष प्रकृति मोक्तानले जानकारी दिनुभयो ।