हेटौंडाः हेटौंडाको एफसी विजय युथले सी डिभिजन लिग छनोट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा जीत हासिल गरेको छ । समूह चरणको २ खेलमध्ये पहिलो खेलमा पराजित हुँदै छनोट प्रतियोगिताबाट बाहिरिने निश्चित भइसकेको एफसी विजय युथले आफ्नो अन्तिम खेलमा जीत हासिल गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी छनोट प्रतियोगितामा बिहीबार बिहान भएको खेलमा विजय युथले काठमाडौंको इराहिटी रानीवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । खेल सुरु भएको तेस्रो मिनेटमा नै विजय युथका विश्व लामाले गोल गर्दै टिमलाई अग्रता प्रदान गरेका थिए । त्यसको ३ मिनेटपश्चात् छैठौं मिनेटमा नै ललित घलानले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ४० औं मिनेटमा रानीवनका तर्फबाट रोहनकुमार बलले गोल गर्दै अग्रता घटाए पनि खेलमा थप गोल हुन नसक्दा एफसी विजय युथले २–१ गोलअन्तरले जीत हासिल गरेको हो ।
देशभरका ७८ वटा टिमले सहभागिता जनाएको छनोट प्रतियोगिताको पहिलो चरणको खेल समूह चरणमा खेलाइएको थियो । सहभागी ७८ टिमलाई २६ समूहमा समावेश गराइएको थियो भने प्रत्येक समूहमा ३ टिम रहेका थिए । समूह चरणमा २ खेल खेल्दा प्रत्येक समूहबाट समूह विजेता बनेका कुल २६ टिम नकआउट चरणमा प्रवेश गर्नेछन् भने त्यसबाट पनि उत्कृष्ट ३ टिमले मात्र सी डिभिजन लिग खेल्नेछन् । जसअन्तर्गत् पहिलो खेलमा हार व्यहोरेको एफसी विजय युथले दोस्रो खेलमा जीत हात पारेर ३ अंक जोडेपनि यहि समूहमा रहेको भ्याली इगल क्लबले २ खेलमा नै जीत हासिल गर्दै ६ अंकका साथ समूह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । विजय युथसँगै दुबै खेलमा हार व्यहोरेर अंकबिहीन इराहिटी रानीवन पनि समूह चरणबाट नै बाहिरिएको छ ।
अघिल्लो वर्ष पनि छनोट प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको एफसी विजय युथको सी डिभिजन लिग खेल्ने सपना यो वर्ष पनि रोकिएको छ । समूह चरणबाट दोस्रो चरणमा प्रवेश गर्नका लागि पहिलो खेलमा जित्नै पर्ने दबावका साथ खेल्नुपरेको अवस्थामा ९० मिनेटसम्म गोलरहित बराबरी भइरहँदा अन्तिम समयमा सम्हालिन नसक्दा हार व्यहोर्दै समूह चरणबाट बाहिरिन परेको एफसी विजय युथका अध्यक्ष सुदिप राजबाहकले बताउनुभयो ।
‘पहिलो खेलमा भ्याली इगललाई जित्नैपर्ने दबाव थियो । दबावमा खेल्नुपरेका कारण खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्न सकेनन्’, उहाँले भन्नुभयो । अधिकांश युवा खेलाडी समेटिएको भएपनि अनुभवको कमी भएकाले यसपटक सी डिभिजन खेल्ने सपना टुट्न पुगेको अध्यक्ष राजबाहकको भनाई छ । अर्को पटक थप अनुभवका साथ सहभागिता जनाउने उहाँले बताउनुभयो ।