गुगल तस्बिर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१३ स्थित कालिका आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष कुमार सिंह बज्यूले आफ्नी बुहारीलाई जागिर खुवाउन नपाउने भएपछि शिक्षक आवश्यकताको विज्ञापन नै रद्द गर्ने निर्णय गरेका छन् । विद्यालय प्रधानाध्यापक चीनलाल श्रेष्ठ अध्यक्षले आफ्नो बुहारीलाई जागिर खुवाउन नपाउने अवस्था भएपछि विज्ञापन रद्द गर्ने निर्णय गरेको बताउनुभयो ।

बुहारीलाई नियुक्त गर्नकै लागि अध्यक्षले शिक्षक आवश्यकताको सूचना समेत स्थानीय दैनिक पत्रिकासँगको मिलेमतोमा लुकाइएको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले भदौ २९ गते शिक्षक नियुक्तिका लागि अनुमति प्रदान गरेपछि असोज १ गते बजारमा पत्रिका वितरण नहुने गरी सूचना प्रकाशित गरिएको पाइएको छ भने वडा कार्यालयमा टाँस गरिएको सूचना पनि टाँस गरे लगत्तै च्यातिएको थियो । शिक्षक नियुक्तिको विषयमा बुझ्न अध्यक्ष बज्यूको मोवाइलमा सम्पर्क गर्न खोज्दा मोवाइल फोन उठेन ।

शिक्षक सेवा आयोगले लिएको परीक्षामा करार सूचिमा रहेका उम्मेद्वारलाई स्वतः नियुक्त गर्नुपर्ने व्यवस्थाअनुसार करार सूचिमा रहेका हेटौंडा–१२ की सम्झना विडारीले विद्यालयमा आवेदन दिन जाँदा आवेदन नै लिन नमानेपछि अध्यक्षले अनियमितताको प्रयास गरेको खुलेको हो । आवेदन दर्ता गर्न नमानेपछि सम्झना विडारीले शिक्षा विकास तथा समन्वय इकाईमा गएर गुनासो गरेपछि असोज ५ गते विद्यालयले विडारीको निवेदन दर्ता गरेको थियो । निवेदन दर्ता भएसँगै विडारीलाई स्वतः नियुक्त गर्नुपर्ने भएपछि अध्यक्ष बज्यूले विज्ञापन नै रद्द गर्ने निर्णय गरिएको भन्दै बिहीबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र हेटौंडा उपमहानगरपालिकामा निवेदन दर्ता गराएका छन् ।

शिक्षक सेवा आयोगले लिएको परीक्षामा करार सूचिमा रहेकी विडारीलाई निवेदन फिर्ता लिन अध्यक्ष बज्यूले दबाव समेत दिएका थिए । विडारीले बिहीबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र हेटौंडा उपमहानगरपालिकामा विद्यालयले नियुक्ति दिन नखोजी विज्ञापन नै रद्द गर्न खोजेको भनी जानकारी गराउनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बज्यू, प्रधानाध्यापक श्रेष्ठसहितको समूह नै आएर असहज परिस्थिति भएकोले विज्ञापन रद्द गर्ने निर्णय गरिएको भनी निवेदन दर्ता गराएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेम खरेलले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकामा पनि विज्ञापन रद्द गरिएको निर्णयसहित निवेदन दर्ता गराएको मेयर हरिबहादुर महतले जानकारी गराउनुभएको छ । के कति कारणले विज्ञापन रद्द गर्नुपरेको भनी शिक्षा विकास महाशाखालाई बुझ्न भनी निर्देशन दिएको मेयर महतले बताउनुभएको छ । मकवानपुरका विद्यालयहरुमा शिक्षक नियुक्तिको प्रक्रियामा नजिकका र नातेदारलाई नियुक्त गर्न अनियमितताको प्रयास उल्लेख्य संख्यामा भइरहने गरेको छ ।