बहुराष्ट्रिय कम्पनीप्रति नेपालीको ठूलो विश्वास र भरोसा रहँदै आएको छ । उनीहरुले कुनै पनि नक्कली उत्पादन गर्ने छैनन् र उपभोक्तालाई शुद्ध उत्पादन बिक्री गर्दछन् भन्ने विश्वासमा पछिल्लो समय घात हुन थालेको छ । नेपाली उद्योगका उत्पादनभन्दा गुणस्तर हुने विश्वासले महंगो भए पनि उपयोग गर्ने नेपाली बानी छ । नागरिकको विश्वासलाई उद्योगहरुले दुरुपयोग गर्नु त्यो भन्दा ठूलो धोका अरु हुन सक्दैन । विश्वास कायम राख्ने वा नराख्ने भन्ने कुराको जिम्मा सम्बन्धित कम्पनीको हुने गर्दछ । विदेशी कम्पनीमात्र हैन कि, नेपाली उद्योगहरुले पनि उपभोक्ताप्रतिको जिम्मेवारी पूरा नगर्ने हो भने पलायन हुनुको विकल्प हुँदैन । तर विश्वास गरेकाबाटै थाहा नपाउनेगरी धोका हुँदै आएको पाइएको छ ।

नेपालीहरुले विश्वास गरेको बहुराष्ट्रिय कम्पनीमध्ये युनिलिभर पनि हो । तर बागमती प्रदेशको राजधानी हेटौंडामा लामो समयदेखि सञ्चालन हुँदै आएको यो कम्पनीका पनि नक्कली व्यवहार सार्वजनिक भएको छ । नागरिकको विश्वासलाई शक्तिका रुपमा लिएर उसले गरेका नराम्रा कामहरुको विस्तृतरुपमा खोजी हुनुपर्ने आवाज उठ्नथालेको छ । युनिलिभरमा जिल्ला प्रशासनको समेत सहभागितामा अनुगमन गर्दा उपभोक्ता हितविपरित म्याद सकिएको ३२ हजार किलो भन्दा बढी चियापत्ती फेला पारेको थियो । तर लामो समयसम्म पनि उद्योगलाई कुनै कारवाही नभएको भन्दै सर्वसाधारणदेखि व्यवसायीहरुबाट नै गुनासो आउन थालेको छ । साना उद्योगहरुबाट भएका गल्तीलाई ठाउँको ठाउँ कारवाही गर्ने अनुगमन टोलीले युनिलिभरलाई १५ दिनभन्दा बढी समयसम्म पनि केही नगरेकोप्रति उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
ठूलो र विदेशी लगानी हुँदैमा प्रशासनले आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट पछि हट्नु हुँदैन ।

नियमानुसार कारवाही अघि नबढ्दा कारवाही कस्ले गर्ने भन्ने प्रश्न उठेको छ । अनुगमन टोलीले उद्योगमा शिल गरेपछि किन लामो समयसम्म प्रक्रिया सुरु नभएको भन्ने प्रश्न महत्वपूर्ण छ । उपभोक्ता ठगी गर्ने उद्देश्यले बजारमा बिक्री गर्न लागिएको भन्दै अनुगमन टोलीले उद्योग शिल गरेको थियो । अनुगमनमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरले म्याद गुज्रेको लेबलसहितको स्याम्पल परीक्षण गर्न विभागमा पठाएको छ । तर त्यसको विषयमा लामो समयसम्म पनि नतिजा र निर्देशन नआएकोप्रति आम चासो देखिन्छ । ठूलो कम्पनी भएकाले कतै कारवाहीबाट जोगाउने त हैन भन्ने आशंका छ । चाडपर्व नजिकिँदै गर्दा भएको अनुगमनप्रति आशंका हुने गर्दै आएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरले शिल गरेको उद्योग र म्याद गुज्रेको चियापत्तीबारे अनुसन्धान अघि बढाएको दावी गरेको छ । उपभोक्तालाई थाहै नभई बजारमा म्याद गुज्रेको चियापत्ती पुग्ने आशंकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुसन्धान अघि बढाएको हो । कार्यालयले ३ महिनादेखि युनिलिभरमा म्याद गुज्रेको चियापत्ती रहेको जनाउँदै आवश्यक कागजपत्र उद्योगसँग माग गरेको जनाएको छ । तर उद्योगले कागजपत्र किन दिन अटेर गरेको हो भन्ने पक्षबाट पनि अनुसन्धान हुन आवश्यक छ । के उसले जिल्लाका निकायहरुलाई बेवास्ता गरेको हो ? त्यसो गर्न उसलाई अधिकार छ ? हैन भने जवाफ नदिएको, सामान लुकाएको तथा उपभोक्तालाई ठगी गर्न खोजेकोजस्ता विषयमा तुरुन्त कारवाही अघि बढ्नु पर्दछ ।