
हेटौंडाः आफ्नो जन्मदिनको अवसर पारेर कपडा व्यवसायी नेत्रप्रसाद खतिवडाले मकवानपुर उद्योग वाणिज्य संघलाई सहयोग गर्नुभएको छ । संघले निर्माण गरिरहेको अतिथि सदनको निर्माण कार्य पूरा गर्न सहयोग पुग्ने अपेक्षासहित खतिवडाले मंगलबार ५१ हजार रुपैयाँ सहयोग गर्नभएको छ ।
खतिवडाले स्वर्गीय बुबा मेघनाथ खतिवडाको स्मृतिस्वरुप ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । मकवानपुर उद्योग वाणिज्य संघले नियमित आयको स्रोतको रुपमा विकास गर्ने गरी हेटौंडा–२ मा पल्पसा सदन निर्माण गरेको हो । निर्माणको अन्तिम चरणमा रहेको पल्पसा सदनको लागत करिब साढे ४ करोड रुपैयाँ अनुमान गरिएको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभएको छ ।
संघकै कोष, पदाधिकारी, सदस्य व्यवसायीको सहयोगमा निर्माणाधिन पल्पसा सदनलाई स्थानीय सरकार र प्रदेश सरकारले पनि सहयोग गरेको छ । बागमती प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोग गरेको छ भने हेटौंडा उपमहानगरपालिकाले नक्सा पास शूल्क छुट गर्नुका साथै ५ लाख रुपैयाँ पनि सहयोग गरेको छ ।