हेटौंडाः भीमफेदी गाउँपालिकास्थित महेन्द्र माविलाई बस हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारले उपलब्ध गराएको बस सोमबार एक कार्यक्रमका बीच भमिफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयबाट दूरीमा रहेका विद्यार्थीलाई विद्यालयसम्मको पहुँच स्थापित गर्न प्रदेश सरकारले सरकारी विद्यालयहरुलाई बस उपलब्ध गराइरहेको छ । महेन्द्र माविलाई प्राप्त भएको बसले भीमफेदी गाउँपालिका–४ निबुवाटारदेखि भीमफेदी–६, देउरालीसम्मका विद्यार्थी लाभान्वित हुने भीमफेदी गाउँपालिकाका शैक्षिक सुपरीवेक्षक गोविन्द चौलागाईले जानकारी दिनुभएको छ । नजिकैको आधारभूत तहका विद्यालयमा अध्ययन पूरा गरेपछि माथिल्लो तह अध्ययनका लागि टाढाका विद्यालय धाउन जोखिमपूर्ण रुपमा सुमोको छतमा यात्रा गर्न बाध्य विद्यार्थीलाई बसको उपलब्धताले सहज हुने गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभएको छ ।

गाउँपालिका अध्यक्ष लामाले महेन्द्र मावि व्यवस्थापन समितिका अध्यक्ष सन्तकुमार घिसिङलाई बस हस्तान्तरण गर्नुभएको हो । प्रदेश सरकारले अनुदानमा बस उपलब्ध गराए पनि नियमित सञ्चालनका लागि चालक, सहचालक, इन्धन खरिद, मर्मतमा हुने खर्च व्यवस्थापनका लागि विद्यार्थीसँग न्यूनतम् शूल्क लिइने बताइएको छ । बस मर्मतका लागि गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि बजेट विनियोजन गरिने शैक्षिक सुपरीवेक्षक गोविन्द चौलागाईले जानकारी दिनुभयो । यसअघि भीमफेदी गाउँपालिका–२, भैंसेस्थित कृष्ण माविले भाडामा लिएर विद्यार्थीका लागि बस सञ्चालन गरिरहेको छ ।