हेटौंडाः संविधान दिवस २०७८ को अवसरमा मकवानपुरको भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका २१ जनालाई थुना मुक्त गरिएको छ । गृह मन्त्रालय, स्थानिय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्रअनुसार कारागारमा रहेका मकवानपुरका ८ जनासहित २१ जना कैदीलाई रिहा गर्न कारागार सुरक्षा गार्डलाई निर्देशन दिइएअनुसार आइतबार नै थुना मुक्त गरिएको कारागार कार्यालय भीमफेदीले जनाएको छ ।
थुनामुक्त हुने कैदीबन्दीहरुमा कर्तव्य ज्यान, चोरी, सवारी ज्यान, बहुविवाहलगायतका मुद्धामा कैदभुक्तान गरिरहेका कैदीहरु थिए । जसमध्ये मकवानपुर जिल्ला अन्तर्गतका कर्तव्य ज्यान तथा डाँका मुद्धामा मार्खु–३ का ठाकुर दोङ, नकवजनी चोरी मुद्धामा हेटौंडा–१० का सरिन केसी, हेटौंडा–११ का राजिव गुरुङ, सवारी ज्यान मुद्धामा मनहरी–४ का सुरज थिङ, हेटौंडा–१ का कमल आले मगर, सवारी ज्यान र अंगभंग मुद्धामा मकवानपुरगढी–७ का राजकुमार स्याङतान, बहुविवाह मुद्धामा हेटौंडा–१ का नवराज लामा (सिंतान) र ज्यान मार्ने उद्योग मुद्धामा कैदभुक्तान गरिरहेका हेटौंडा–६ का भक्त बहादुर भन्ने भक्तबहादुर राउतको बाँकी कैद सजाय माफ गर्दै थुना मुक्त भएका छन् ।
यस्तै भीमफेदी कारागारमा नै कैदभुक्तान गरिरहेका रोल्पा जिल्लाका धर्म बहादुर खत्री र सेते भन्ने सेत बहादुर पुन, सिन्धुपाल्चोक जिल्लाका हिरा भन्ने न्याउरे तामाङ र रेशम माझी तथा काठमाडौंका राजु तामाङ र पंचे भन्ने हकै बहादुर विश्वकर्मा पनि थुनामुक्त भएका छन् । यसैगरी नुवाकोट जिल्लाका सिताराम तिमल्सिना, नवलपरासीका हुम्बा भन्ने हुम बहादुर गुरुङ, धनुषा जिल्लाका राम दुलार मण्डल, ललितपुरका दिनेश डिम्डुङ, बाराका नुरहसन मिया ठकुराई, धादिङ जिल्लाका आकाश भन्ने रामचन्द्र खदाल भन्ने रामचन्द्र खनाल र रुपन्देहीका सोनु कुमार वर्मा पनि थुनामुक्त भएका छन् ।
उनीहरुलाई आइतबार नै थुनामुक्त गरिसकिएको भीमफेदी कारागार प्रमुख नारायण पाण्डेले जानकारी दिनुभयो । भीमफेदी कारागार कार्यालयले संविधान दिवसको अवसरमा बाँकी कैद छुटको लागि कैद भुक्तान गरिरहेका ४३ जनाको नाम सिफारिस गरेको थियो ।