हेटौंडाः बी डिभिजन फुटबल क्लबमा प्रवेश पाउने मुल ढोकाको रुपमा रहेको सी डिभिजन लिग छनोट प्रतियोगिताका लागि मकवानपुरका २ क्लबले अन्तिम तयारी गरिरहेको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा भदौ १० गतेबाट सुरु भएको सी डिभिजन छनोटको पहिलो चरणको खेलका लागि मकवानपुरबाट सहभागिता जनाएका एफसी विजय युथ र राप्ती रिभर युवा क्लबले खेल समय नजिकिँदै गर्दा आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको हो ।
३ टिम छनोट भएर सी डिभिजन लिग खेल्नुपर्ने प्रतियोगिताको छनोट खेलमा देशभरका ७८ टिमले सहभागिता जनाएपछि गोलाप्रथाबाट मकवानपुरका दुबै टिमले पहिलो चरणका २ खेल खेल्ने समय छनोट प्रतियोगिता सुरु भएको लगभग १ महिनापछि परेको छ । लिगकम नकआउटका आधारमा भइरहेको छनोट प्रतियोगितामा सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरी प्रत्येक समूहमा ३ टिम राखिएको छ । समूह चरणबाट दोस्रो चरण अर्थात् नकआउट चरणमा प्रत्येक समूह विजेता क्लबमात्र प्रवेश गर्ने नियम रहेकाले क्लबहरुलाई समूह चरणका दुबै खेल जित्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।
त्यही अवस्थालाई मध्येनजर गर्दै मकवानपुरका दुबै क्लबले प्रशिक्षणलाई कडा पारेको जनाएको छ । छनोट प्रतियोगितामा सबै क्लबहरु नयाँ आउने भएकाले कुन क्लब कत्तिको बलियो छ भनेर खेलमा मात्र देखिने भएकाले आफू पूर्णरुपमा तयारी हुनुपर्ने राप्ती रिभर युवा क्लबका अध्यक्ष रेशम जमकट्टेलले बताउनुभयो । खेलमा सबै क्लब आफ्नो ठाउँबाट बलियो भएर नै आउने भएकाले कुनै क्लबलाई कमजोर रुपमा हेर्न नहुने उहाँको भनाई छ । समूह चरणबाट तीनमध्ये एउटा मात्र क्लब अगाडि जाने भएपनि आफ्नो क्लब प्रतियोगिताका लागि पूर्णरुपमा तयार रहेको उहाँले जानकारी दिनुभयो । क्लबमा अधिकांश स्थानीय खेलाडीहरुलाई समेटेर चितवन, वीरगञ्ज, रौतहट, मुग्लिनका केही खेलाडीहरु पनि रहेको क्लबले जनाएको छ । क्लबका अधिकांश खेलाडीहरु पहिलेदेखि क्लबमा नै रहेर खेल्दै आइरहेकाले प्रतियोगिताको लागि सहज हुने अनुमान गरिएको अध्यक्ष जमकट्टेलले बताउनुभएको छ ।
अघिल्लो पटक पनि सी डिभिजन छनोटमा सहभागिता जनाएर अनुभव बटुलेको एफसी विजय युथले क्लबका केही पुराना खेलाडीहरुका साथै युवा खेलाडीहरुलाई अवसर प्रदान गर्ने जनाएको छ । हेटौंडा गोल्डकप आयोजक तथा गत वर्षको उपाधि विजेतासमेत रहेको एफसी विजय युथ यसपटक छनोट चरण पार गर्दै सी डिभिजन लिगबाट बी डिभिजन लिगमा उक्लिने उच्च मनोबलका साथ प्रतियोगिताको तयारी गरिरहेको छ । विभिन्न गोल्डकपहरुमा ए डिभिजन क्लबहरुको सामना गरेको एफसी विजय युथले गोल्डकप खेलेका केही अनुभवी खेलाडीहरुलाई टिममा राखेको छ । टिममा आकाश कटुवालसहित केही अनुभवी तथा युवा खेलाडीहरु रहेको प्रशिक्षक विजयलाल श्रेष्ठले जानकारी दिनुभयो ।
अघिल्लो पटकको छनोटमा पहिलो खेलमा हार व्यहोरेर दोस्रो खेलमा जीत हासिल गरेपनि अघिल्लो चरणमा जान नसकेको विजय युथले यसपटक कुनै गल्ती नगर्ने क्लबका अध्यक्ष सुदिप राजबाहकले बताउनुभएको छ । भदौ १० गतेबाट हालसम्म भएका समूह चरणका खेलहरु हेर्दा छनोटको अर्को चरणमा प्रवेश गर्न अर्को टिमको नतिजामा भर पर्नुपर्ने क्लबहरु बाहिरिँदै गएपछि म्याच फिक्सिङको कुराहरु आएका कारण आफूले दुबै खेलहरु जित्दै गएपछि कसैले म्याच फिक्सिङको आरोप लगाउन नसक्ने भएकाले पनि यस्ता कुराहरुबाट बच्नकै लागि भएपनि दुबै खेल जितेर अघिल्लो चरणमा जाने तयारी गर्दै प्रशिक्षण कडा पारिएको उहाँले जानकारी दिनुभयो । उहाँले प्रशिक्षणमा सहभागी केही युवा खेलाडीहरु छनोट खेलमा नखेलेपनि खेल हेरेर अनुभव बटुल्ने भएकाले एन्फाले तय गरिएको भन्दा बढी खेलाडी काठमाडौं लैजाने बताउनुभएको छ ।
एन्फाले सुरुमा प्रकाशित गरेको खेल तालिकाअनुसार समूह चरणका दुई खेलहरु राप्ती रिभर युवा क्लबले असोज १० र १२ गते तथा एफसी विजय युथले असोज १२ र १४ गते खेल्ने जनाइएको भएपनि केही दिन यता एन्फाले दिनमा ३ वटा खेल खेलाउन थालेपछि मकवानपुरका टिमले खेल्ने समय अगाडि सरेको छ । एन्फाको नयाँ खेल तालिकाअनुसार राप्ती रिभर युवा क्लबले असोज ४ र ६ गते बिहानको खेल खेल्दैछ भने एफसी विजय युथले असोज ५ र ७ गते बिहान समूह चरणको खेल खेल्नेछ । छनोट सुरु भएको झण्डै १ महिनापछि मकवानपुरका क्लबले खेल्ने तालिका रहँदा खेलाडीहरुलाई प्रशिक्षण गर्न र टिमलाई बलियो बनाउन समय मिलेको भएपनि खेलाडीहरुलाई बस्न तथा खानका लागि धेरै खर्च भएको दुबै क्लबले जनाएको छ । एक महिनासम्म पनि खेलाडीहरुलाई पहिलो चरणका खेलका लागि तयारी गर्न दैनिक १० हजारका दरले खर्च भइरहेको दुबै क्लबका अध्यक्षहरुले जानकारी दिनुभएको छ ।
क्लबलाई ठूलो सहयोग जुटेन
सी डिभिजन लिग छनोट खेल्न जाने मकवानपुरका दुबै क्लबहरुले हालसम्म पनि ठूलो सहयोग जुटाउन सकेका छैनन् । ठूला किसिमका प्रतियोगिता खेल्ने क्लबलाई विभिन्न उद्योग तथा संघसंस्थाहरुले एकमुष्ठ सहयोग अथवा प्रायोजन (स्पोन्सर) गर्ने भएपनि छनोट खेल्न जाने क्लबहरुले ठूला प्रायोजक पाएका छैनन् । जसले गर्दा क्लबहरुलाई प्रतियोगिता तथा खेलाडी व्यवस्थापनका लागि आर्थिक समस्या पर्ने देखिन्छ ।
एक महिनासम्म खेलाडीहरुलाई बस्न तथा खाने व्यवस्था गर्नकै लागि कम्तिमा पनि ३ लाख रुपैयाँ खर्च भएको छनोटमा सहभागी मकवानपुरका दुबै क्लबले जनाएका छन् । ठूला प्रायोजक नपाएपनि दुबै क्लबले स्थानीय साथीभाइ तथा आफन्तबाट नै सहयोग उठाएर आर्थिक व्यवस्थापन गरेको जनाएको छ ।
मकवानपुरबाट दुई क्लब सहभागी भइरहँदा मकवानपुर र सम्बन्धित स्थानीय तहको नाम रहने भएकाले स्थानीय तहबाट पनि सहयोग रकम आश गरिएको भएपनि सोचे झैं आर्थिक सहयोग नमिलेको राप्ती रिभर युवा क्लबका अध्यक्ष रेशम जमकट्टेलले बताउनुभयो ।
मनहरी गाउँपालिकाको प्रतिनिधित्व गर्ने यस क्लबले छनोट प्रतियोगिताका लागि गाउँपालिकामा सहयोग माग गर्दा विभिन्न प्रक्रिया पुर्याएर आउन भन्दै विभिन्न कागजपत्र, सर्जिमिन लगायतका झन्झटिलो र लामो प्रक्रियामा जान भनेको र त्यसपछि पनि २०-३० हजार रुपैयाँमात्र मिल्ने भएपछि गाउँपालिकाबाट सहयोगको आश मरेको उहाँले जानकारी दिनुभयो । भोलिका दिनमा गाउँपालिकालाई चिनाउने क्लबले लाखौं खर्च गरेर छनोटमा जान तयार भएको अवस्थामा गाउँपालिकाले २०-३० हजारमात्र दिन्छु भनेर खेलाडीहरुको आत्मबल कमजोर पारेको उहाँको भनाई छ । विभिन्न राजनीतिक दलहरुले सहयोग गर्छु भनेपनि भोलिका दिनमा खेलाडीहरुलाई राजनीतिक दलको झण्डा बोकाएर हिँड्ने बनाउन नसकिने अध्यक्ष जमकट्टेलले बताउनुभयो ।
अन्य कुनै ठूलो सहयोग नमिले पनि साथीभाइ, आफन्तहरुबाट सहयोग संकलन गरेर क्लबले छनोट खेल्न जान लागेको उहाँले जानकारी दिनुभयो । सानोसानो सहयोग संकलन गर्दापनि हालसम्म ३ लाख ६० हजार रुपैयाँ संकलन भएको उहाँले बताउनुभयो । पालिका तथा खेल क्षेत्रका सम्बन्धित संस्थाहरुले सहयोग नगरेपनि खेलाडीहरुलाई आवश्यक सुविधा प्रदान गरी छनोट प्रतियोगितामा सहभागी हुने क्लबले जनाएको छ । क्लबले स्थानीय तथा अन्य जिल्लाका खेलाडीहरुलाई १ महिनादेखि होटेलमै राखेर बस्ने र खाने व्यवस्थासहित प्रशिक्षण प्रदान गरेको क्लबका अध्यक्ष जमकट्टेलले जानकारी दिनुभयो । साथै खेलाडीहरुसहित प्रशिक्षक तथा व्यवस्थापक गरी २५ जनाको टिम प्रतियोगितामा छनोट चरणका दुई खेल खेल्न असोज २ गते सिमरा एयरपोर्टबाट हवाईजहाजमै काठमाडौं जाने पनि उहाँले बताउनुभयो ।
यस्तै एफसी विजय युथले पनि स्थानीय तथा विदेशमा रहेका साथीभाइहरुसँग ५-१० हजार रुपैयाँका दरले सहयोग संकलन गरेको जनाएको छ । क्लबका अध्यक्ष सुदिप राजबाहकले चिनेका साथीभाइ तथा क्लबकै पदाधिकारीहरुसँग गरी हालसम्म २ लाख ८२ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको जानकारी दिनुभयो । यसबाहेक खेलकुदका सामग्रीहरु तथा खेलाडीहरुका लागि जर्सीहरु पनि सहयोग प्राप्त भएको उहाँले बताउनुभएको छ । यस्तै हेटौंडा उपमहानगरपालिकाबाट जाने गाडीभाडामात्र उपलब्ध गराउने कुरा मेयर हरिबहादुर महतले गर्नुभएको अध्यक्ष राजबाहकले बताउनुभयो । हेटौंडाको फरेष्ट्री मैदानमा प्रशिक्षणरत एफसी विजय युथ प्रतियोगितामा छनोट चरणका दुई खेल खेल्न असोज ३ गते गाडीबाट काठमाडौं जाने क्लबले जनाएको छ ।