हेटौंडाः नेकपा एकीकृत समाजवादी मकवानपुरको पार्टी कार्यालयको स्थापना गरिएको छ । हेटौंडा–४, शितल महलचोकमा पार्टी कार्यालयको बिहीबार एकीकृत समाजवादीको केन्द्रिय सदस्य एवम् बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले उद्घाटन गर्नुभएको हो ।
कार्यालयको उद्घाटन गर्दै न्यौपानेले नेताहरुको रगत पसिनाले निर्माण गरिएको पार्टी बिसर्जनबादीका हात पुगकोले एकीकृत समाजवादी पार्टी निर्माण गर्नुपरेको बताउनुभयो । उहाँले एमाले संसद देख्नै नसक्ने पार्टी बनेको बताउँदै आफ्नो बर्चश्व रहेमा संसद विघटन गर्ने, वर्चश्व नभए घेराबन्दी गर्ने, दंगा फसाद गरेर गुरिल्ला युद्दझैं सभामुखमाथि हमला गरी संसद चल्न नदिने पार्टी भनेको एमाले भएको भन्नुभयो ।
समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले आफूहरु सामु हिजो जनताका बिचमा गएर गरिएको प्रतिबद्दता पूरा गर्ने दायित्व आइपरेको बताउनुभयो । उहाँले १०२ वडामा पार्टीको कार्यक्रम लिएर जाने बताउनुभएको छ । कार्यक्रममा समाजवादीको केन्द्रिय सदस्यहरु ललित बस्नेत, मुनु सिग्देल, सुर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल लगायतका पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।