गुगल तस्बिर ।

हेटौंडाः विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु हुने भएपछि हेटौंडा उपमहानगरपालिकाको १५ नम्बर वडाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री दिने भएको छ । वडाका सम्पूर्ण विद्यालयमा भौतिक उपस्थितिमा भदौ २७ गतेदेखि जोरबिजोर प्रणालीबाट कक्षा सञ्चालन गरिने तयारी भएसँगै वडा कार्यालयले स्वास्थ्य सामग्री दिने भएको हो ।

वनदेवी आधारभूत विद्यालय हेटौंडा–१५, फायरलाइनको आयोजनामा सोमबार वडाभित्र रहेका विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिको बैठक बसेर २७ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । हेटौंडा–१५ का वडा सदस्य मिनु विश्वकर्माको विशिष्ट आतिथ्यतामा बसेको बैठकले विद्यालय सञ्चालन कार्यढाँचा–२०७७ लाई आधार मानेर वडामा कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गरी वडाका सम्पूर्ण विद्यालय जोरबिजोर प्रणालीबाट भौतिक उपस्थितिमा १० बजेदेखि २ बजेसम्म कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

वनदेवि आधारभूत विद्यालयका पीटीए अध्यक्ष ओमकार भट्टको सभाध्यक्षतामा बसेको बैठकले ईसीडी कक्षा तत्काल सञ्चालन नगर्ने र उपयुक्त परिस्थिति सिर्जना भएपश्चात् सञ्चालन गर्ने निर्णय भएको छ । प्रत्येक विद्यालयमा एकजना शिक्षकलाई फोकल व्यक्ति तोकी अनिवार्य हेल्प डेस्क खडा गर्ने, विद्यालय स्वास्थ्य आचारसंहिता निर्माण गर्ने र सो कार्यका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु (थर्मल गन, सेनिटाइजर, मास्क, साबुनलगायत) १५ नम्बर वडा कार्यालयमा माग गर्ने र चुरियामाई स्वास्थ्य चौकीलगायत अन्य सरोकारवालाहरुसँग थप समन्वय गर्ने निर्णय गरिएको छ ।

बैठकमा हेटौंडा १५ का वडा सदस्य विश्वकर्माले स्वास्थ्य मापदण्ड पूरा गर्न आवश्यक स्वास्थ्य सामग्रीहरु वडा कार्यपालिकामार्फत् उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।