फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरुले यही भदौ २७ गतेबाट भौतिक रुपमा विद्यार्थीलाई उपस्थित गराएर विद्यालयमा पठनपाठन गराउने भएको छ । हेटौंडा उपमहानगरपालिकाले आईतबार सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफलको आयोजना गरी भौतिक रुपमा पठनपाठन गर्ने निर्णय गरेको हो ।

विद्यालयका कुल विद्यार्थी संख्यामध्ये आधा विद्यार्थी मात्रै उपस्थित गराएर आलोपालो कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । विद्यार्थी संख्याको आधारमा जोर गते जोर कक्षा र बिजोर गते बिजोर कक्षा सञ्चालन गर्न सकिने बताइएको छ । यस्तै विद्यार्थी संख्या धेरै भएका विद्यालयले जोर गते जोर रोल नम्बरका विद्यार्थी र बिजोर गते बिजोर रोल नम्बर भएका विद्यार्थीलाई उपस्थित गराएर पढाउन सक्नेछ ।

प्रधानाध्यापकहरुसँगको छलफलमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिक्षकहरुले नै उपयुक्त योजना बनाएर पठनपाठन सुचारु गर्नुपर्ने बताउनुभएको छ । लामो समय पठनपाठन नहुँदा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाई र गुणस्तर खस्किएको भन्दै मेयर महतले चिन्ता व्यक्त गर्नुभयो ।

वंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले विद्यालयहरुले भदौ २७ गते आइतबारबाट पठनपाठन सुरु गरिने बताउनुभयो । कार्यढाँचा अनुसार नै पठनपाठन गरिने भएपनि मास्क अभाव हुन नदिन सहयोगको अपेक्षा गर्नुहुँदै लामिछानेले विद्यालयमा एकजना स्वास्थ्यकर्मी व्यवस्था गर्न पनि उपमहानगरलाई आग्रह गर्नुभएको छ ।

छलफलमा हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले स्वास्थ्यमा समस्या देखिएका विद्यार्थीको तत्कालै एन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण गर्न सकिने बताउनुभएको छ । हेटौंडा उपमहानगरमा ७७ वटा सामुदायिक विद्यालय छन् ।