हेटौंडाः नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ । आइतबार बिहानैदेखि सुरु भएको अधिवेशनबाट हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा समिति सभापतिमा हरिप्रसाद पौडेलको नेतृत्वमा वडा समिति र २७ जना प्रतिनिधि सर्वसम्मत चयन भएको छ ।
वडा सभापति चयन हुनुभएका पौडेल २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रहनुभएको थियो । पार्टीमा गरेको मिहिनेतको मूल्यांकन गर्दै सर्वसम्मत वडामा पार्टीको नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गर्न क्रियाशील सदस्यहरुबाट साथ पाएको पौडेलको भनाइ छ ।
हेटौंडा–४ स्थित क्वीक २० पार्टी प्यालेसमा भएको अधिवेशनबाट पौडेल नेतृत्वको वडा समितिको सचिवमा विजय कार्की र रमेश मुडभरी, सहसचिवमा कृष्णप्रसाद प्रसाई र रामेश्वर पराजुली सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत प्रद्युम्न उपाध्यायले जानकारी दिनुभएको छ । यस्तै क्षेत्रीय प्रतिनिधि २७ जना पनि सर्वसम्मत चयन भएका छन् । ४ नम्बर वडामा नेपाली कांग्रेसको सक्रिय सदस्य दुई सय ८८ जना छन् ।