हेटौंडाः मकवानपुरको हेटौंडा–१७ चुनडाँडास्थित कर्रा खोलामा आएको बाढीले शुक्रबार दिउँसो ट्रक बगाउँदा बेपत्ता भएका ट्रक चालक बद्री सार्कीको पनि शव भेटिएको छ । खोलाले बगाएर बेपत्ता भएको २ दिनपछि आज आइतबार बिहान सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सार्कीको शव चुच्चेखोलास्थित कर्रा खोलाको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । कुमालटारबाट दुध बोकेर डेरी जाँदै गरेका स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेको उहाँले बताउनुभयो । रामेछाप जिल्लाको तामाकोशी लिखु गाउँपालिका–४ घर भई हेटौंडा–६ मा डेरा गरी बस्ने ४० बर्षीय बद्री सार्की र काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका–१५ तीनथाना बस्ने ५४ बर्षीय गणेश थापा मगर सवार ट्रक शुक्रबार कर्रा खोलामा आएको बाढीले बगाएकोे थियो ।
शुक्रबार बिहान परेको भारी वर्षाले आएको बाढीले शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक बगाउँदा ट्रक चालक सार्की र थापा बेपत्ता भएका थिए । बेपत्ता भएका थापाको शव शनिबार दिउँसो भेटिएको थियो ।