हेटौंडाः कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको मकवानपुरका विद्यालयहरु आइतबारबाट खोल्न सकिने भएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्थानीय तहले निगरानी गर्नेगरी विद्यालय र अभिभावकको सहमतिमा आइतबारबाट विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको छ ।
बैठकमा विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा आइतबारबाट विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको जिम्मेवारी रहनेगरी विद्यालय संचालन गर्न पाइने भएको हो । तर हेटौंडामा विद्यालय सञ्चालन गर्न अझै जोखिम कायम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेलले पेश गर्नुभएको प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहलाई कोरोना संक्रमण जोखिमका आधारमा ४ क्षेत्रमा विभाजन गरी विद्यालय सञ्चालनको विषयमा जानकारी गराउनुभएको थियो ।
उहाँका अनुसार हेटौंडा उपमहानगरपालिका हार्ड लकडाउनको क्षेत्रमा रहेको छ । थाहा नगरपालिका तथा मनहरी र मकवानपुरगढी गाउँपालिकामा मिक्स लकडाउन, बागमती, बकैया र भीमफेदी गाउँपालिकामा सफ्ट लकडाउन तथा इन्द्रसरोवर, राक्सिराङ र कैलाश गाउँपालिका मिनिमम लकडाउनको क्षेत्रमा रहेका छन् । हेटौंडामा अझैपनि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नहुने प्रमुख खरेलको भनाई रहेको थियो ।
हेटौंडाका भिडभाड कम भएका क्षेत्रहरुमा अभिभावक तथा विद्यालयको सहमतिमा स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सकिने छ । मिक्स लकडाउन भएका क्षेत्रमा ५० प्रतिशत शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा गृहकार्य दिने र संकलन गर्ने गरी विद्यालय सञ्चालन गर्न मिल्ने तथा अन्य क्षेत्रमा पनि आवश्यकता अनुसार विद्यालय सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयमा बिहीबार भएको छलफलमा जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्याय, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलसहित सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।