विद्यार्थीबीच एकअर्कामा पोशाक आदानप्रदान गर्दै ।

हेटौंडाः हेटौंडा–१८, दोभानचौरस्थित कमला आधारभूत विद्यालयका विद्यार्थीलाई निशूल्क विद्यालय पोशाक वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत ३ सय २५ जना विद्यार्थीलाई निशूल्क पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

विद्यालयका शुभेच्छुकसँग सहयोग लिएर विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनाथ तिमल्सिनाले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा सदस्य समेत रहनुभएका अध्यक्ष तिमल्सिनाले विद्यालयले पोशाक परिवर्तन गर्ने योजनाअनुसार सबै विद्यार्थीलाई पोशाक सहयोग गरेको जानकारी दिनुभयो ।

विद्यालयको पोशाक परिवर्तन गर्दा विपन्न परिवारका विद्यार्थीले नयाँ पोशाक खरिद गर्न समस्या हुन सक्ने भएपछि विद्यालयले नै सहयोगीको खोजी गरेर सबै विद्यार्थीलाई पोशाक सहयोग गरेको तिमल्सिनाको भनाइ छ । ८ कक्षासम्म पठनपाठन हुने कमला आधारभूत विद्यालयका शिक्षकले जारी निषेधाज्ञाका कारण विद्यालयमा भौतिकरुपमा उपस्थित भएर पठनपाठन हुन नसकेका बेला विद्यार्थीलाई टोलटोलमा पुगेर समूह समूहमा सिकाई सहजीकरण गरिरहेको छ ।