कार्यशालामा सहभागी शिक्षकहरु ।

हेटौंडाः हेटौंडा–१०, भुटनदेवी मन्दिररोडस्थित सार्क विजनेश कलेज तथा सार्क ओपन स्कूलका शिक्षकका लागि १० दिने कार्यशाला बिहीबारबाट सुरु भएको छ । तुलसीमेहर मावि तथा नारायणी कलेजको स्वामित्व लिएर सार्क एजुकेशन फाउण्डेशनले संस्थाले नाम परिवर्तन गर्नुका साथै शिक्षकहरुको क्षमता विकासका लागि कार्यशालाको आयोजना गरेको हो ।

प्रभावकारी शिक्षणका लागि आवश्यक तयारीस्वरुप शिक्षकका लागि कार्यशालाको आयोजना गरिएको सार्क एजुकेशन फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतले जानकारी दिनुभएको छ । कार्यशालाको पहिलो दिन फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत बस्नेत र काठमाडौं विश्वविद्यालयका कार्यक्रम संयोजक उज्ज्वल उपाध्यायले सहजीकरण गर्नुभएको छ । कार्यशालामा ५५ जना शिक्षकको सहभागिता रहेको छ ।

हरेक दिन ३ घण्टा सञ्चालन हुने कार्यशालामा शिक्षकले जारी निषेधाज्ञाको समयमा प्रयोग गर्नुपर्ने प्रविधि, प्रभावकारी शिक्षणका विधिका विषयमा सहजीकरण गरिने बताइएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित सार्क फाउण्डेशनले शैक्षिक संस्थाको स्वामित्व लिएर आफ्नो अवधारणाअनुसार काम गर्ने तयारीस्वरुप कार्यशालाको आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत बस्नेतले दावी गर्नुभएको छ । संघीय राजधानी काठमाडौंमा रहेर सार्क फाउण्डेशनले गुणस्तरीय शिक्षा प्रदान गर्न देशभर ७ वटा शैक्षिक संस्था सञ्चालन गरिरहेको पनि बस्नेतले जानकारी दिनुभएको छ ।

सार्क ओपन स्कूलमा एक हजार चार सय ५० विद्यार्थी छन् भने सार्क विजनेश स्कूलमा एक सय जना विद्यार्थी अध्ययनरत छन् । सार्क एजुकेशन फाउण्डेशनले दश जोड दुई तहमा विज्ञान संकाय पनि सञ्चालन गर्ने योजना बनाएको छ ।