मनहरी गाउँपालिकाकाले आयोजना गरेको पत्रकार सम्मेलन ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले गाउँपालिकाकै जनप्रतिनिधि र कार्यपालिका सदस्यबाट असुरक्षित रहेको भन्ने समाचार सम्प्रेषण भएकोमा कुनै सत्यता नभएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले बताउनुभएको छ । गाउँपालिकाले त्यस्तो समाचारको खण्डन गर्दै समाचारमा आएजस्तो उपाध्यक्ष मनिला विष्ट असुरक्षित नरहेको जनाएको छ ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले सोमबार मनहरीमा पत्रकार सम्मेलन गर्दे उपाध्यक्ष मनिला विष्ट जनप्रतिनिधि र कार्यपालिका सदस्यहरुबाट असुरक्षित नभएको बताउनुभएको हो । गाउँपालिकाले सञ्चालन गरेको सुरक्षित आवास गृह (सेफ हाउस) मा उपाध्यक्ष मनिला विष्टले पीडित व्यक्तिहरु भन्दै महिला र पुरुष सँगै सेफ हाउसमा राखेपछि गाउँपालिकाले मंगलबार विष्टलाई त्यसबारे स्पष्टिकण सोध्ने तयारी गरेको छ ।

पीडित भन्दै सेफ हाउसमा चेतन थापा, आशीष आचार्य, स्नेता शर्मा (पीडित) र आरती शर्मा ४ जना बसेका थिए । जसमध्ये स्नेहा र आरती आमाछोरी हुन् । सेफ हाउसमा एकमात्र कोठा रहेको छ । उनीहरुको कहाँ इन्ट्री भयो । कसले रेफर गरेर पठाएकोसमेत नखुलेको सेफ हाउसका संयोजक पम्फा रोक्काले बताउनुभयो ।

सेफ हाउसका संयोजकलाई पीडित भन्ने नै जानकारी नदिई पदको दुरुपयोग गर्दै आफ्नो मान्छेलाई सेफ हाउसमा शुक्रबार साँझदेखि राखिएको थियो । पीडित पक्ष मनहरी गाउँपालिकाको नभएको सेफ हाउसका संयोजक रोक्काले बताउनुभयो । गाउँपालिकाले सेफ हाउस सञ्चालन गर्न कार्यविधि नै बनाएको छ । कार्यविधिअनुसार पीडितहरु सेफ हाउसमा नभएको भन्दै उपाध्यक्षले व्यक्तिगतरुपमा आक्षेप लगाएकोसमेत रोक्काले बताउनुभयो ।

कार्यविधिअनुसार सेफ हाउसमा बस्न मनहरी गाउँपालिकाभित्रको महिला, जेष्ठ नागरिक तथा अपाङ्ग हुनुपर्ने रहेको छ । तर सेफ हाउसमा बस्नेहरु मादक पदार्थ सेवन गरेर गएको भन्ने खबर आएपछि गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले प्रहरीलाई समेत सम्पर्क गरेका थिए । तर प्रहरी घटनास्थलमा पुग्न चुकेको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्ट र अध्यक्ष एकराज उप्रेती दुबैजना सूर्य चिन्हबाट चुनाव जितेका हुन् । पछिल्लो समय नेकपा विभाजन भएसँगै उपाध्यक्ष पदबाट विष्टले राजीनामा दिनुभएको थियो र गाउँपालिकाले स्वीकृतसमेत गरेको थियो । पछि उच्च अदालत पाटन हेटौंडा इजलासले विष्टको पक्षमा फैसला गरेपछि उपाध्यक्षको जिम्मेवारी पुनः विष्टले सम्हाल्दै आउनुभएको थियो ।

उपाध्यक्ष विष्टले कर्मचारी, गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्यलगायतलाई काम गर्न समस्या पार्दै आएको र कर्मचारीलाई समेत अपशब्द बोल्ने गरेकोे अध्यक्ष उप्रेतीको भनाइ छ । अध्यक्ष उप्रेतीले उपाध्यक्षले सल्लाकारको अनुसार चल्दा यस्तो गरेको हुनसक्ने भन्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो । यसअघि उपाध्यक्ष मनिला विष्टले पत्रकार सम्मेलन गर्दै गाउँपालिकाको जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुबाटै आफूू असुरक्षित भएको सार्वजनिक गर्नुभएको थियो ।

स्पष्टिकरण सोध्ने आधार नै छैनः उपाध्यक्ष विष्ट
मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले गाउँपालिकाका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुलाई स्पष्टिकरण लिने बताउनुभएको छ । गाउँपालिकाका अध्यक्ष तथा अन्यले आफूलाई स्पष्टिकरण सोध्न कुनै आधार नै नभएको उपाध्यक्ष विष्टले बताउनुभयो । आफूसँग प्रमाणसहित भएकाले उनीहरुसँग स्पष्टिकरण आफूले सोध्ने विष्टले बताउनुभयो ।

मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ट ।

आफू बच्नका लागि पत्रकार सम्मेलन गर्दै झुटा कुरा प्रचार गर्न खोजेको उहाँले आरोप लगाउनुभयो । उहाँले एकपक्षीय समाचार मिडियामा लेख्न नहुने भन्दै आफ्नो मानहानि गरी समाचारहरु आएमा पत्रकारविरुद्ध पनि उजुरी गर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष र आफ्नो बोलचाल नभएको धेरै भएको भन्दै उनीहरुले हस्तक्षेप गर्दै आएको उपाध्यक्ष विष्टको भनाई छ ।

उपाध्यक्ष र अध्यक्षको टकराव किन ?
मनहरी गाउँपालिकाभित्रको ढुुंगा, गिट्टी, बालुवाको विषय र ठूला योजनाहरु अध्यक्ष र उपाध्यक्षको मुख्य टकरावको विषय देखिएको छ । हाँडीखोलाको ५ वटा पुल र लामिटारको समावेशी भवन बनाउन अध्यक्षसँग झगडा गर्नुपरेको उपाध्यक्ष मनिला विष्टले बताउनुभयो । गाउँपालिका अध्यक्षको भाइ, छोरा, छिमेकीसँगको रोहबरमा ढुंगा, गिट्टी, बालुवाको नक्कली रसिदको विषयमा गाउँपालिकामा मुद्धा हालेको भन्दै त्यस विषयमा छानिविन गर्न खोज्दा वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष एकाकार भएको विष्टको ठम्याई छ ।

उनीहरुले यो विषय उठाउन नखोजेको भन्दै आफू्ले उठाउँदै गएको र हाँडीखोलाको पुलको विषयमा अध्यक्ष उप्रेती उग्र भएपछि उनीहरुले न्यायिक समितिमा समेत बाधा गर्दै आएको विष्टले भन्नुभयो । जनताको मतदानबाट निर्वाचित भएर आएको भन्दै कानुनले अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी तोकिदिएको र आफ्नो जिम्मेवारीमा कसैले हस्तक्षेप गर्न नहुने उपाध्यक्ष विष्टको तर्क छ ।

गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफूले मानवीय नाताले सेफ हाउसमा ४ जनालाई बास बस्न दिएको बताउनुभएको छ । मनहरी–३ मा पीडितको ठेगाना भएको भन्दै सुरक्षित आवास उपलब्ध गराइदिन माइती नेपालका कार्यक्रम संयोजक माया लामाले आवश्यक समन्वय गर्न पठाएको उपाध्यक्ष विष्टको भनाइ छ ।

सेफ हाउसमा पुरषहरु पनि बसे भन्ने प्रश्नमा कार्यविधिमा नभए पनि पीडितको नाताले दाइ र सवारी चालक रहेको र बाहिर भात खाने पैसा नभएकाले आफूले मानवीयता देखाएको उहाँले बताउनुभयो । उपाध्यक्ष विष्टले भात खानसमेत पैसा नहुनेले मादक पदार्थ सेवन गरेर सेफ हाउसमा गएको खबर हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले सेफ हाउस खोल्न निमित्त कार्यकारीलाई समेत गाउँपालिकामा जानकारी गराएको भन्दै वडा अध्यक्षलगायतको उपस्थितिमा सेफ हाउसको ताला काटिएको बताउनुभयो । यसलाई गलत प्रचारबाजी गरेको समेत उहाँले आरोप लगाउनुभएको छ ।