हेटौंडाः अपहरणमा परेर भारत पुर्याइएका हेटौंडाका २ युवालाई मकवानपुर प्रहरीले उद्धार गरेको छ । हेटौंडाबाट अपहरण गरेर भारतको मोतिहारी पुर्याई बन्धक बनाइउका हेटौंडा–९ का २ युवाहरुलाई शनिबार राति सकुशल रुपमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा–९ स्वागतटोल बस्ने २३ वर्षीय गोबिन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर गत भदौ ३ गते राती साढे ९ बजे हेटौंडा बसपार्कबाट अपहरणमा परेका र उनीहरुलाई भारतको मोतिहारीमा लगेर बन्धक बनाई अपहरणकारीहरुले परिवारसँग ५ लाख भारतिय रुपैयाँ फिरौती माग गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
उनीहरुलाई भारतिय प्रहरीको सहयोगमा शनिबार राती ११ बजेर ५५ मिनेटमा सकुशल रुपमा अपहरण मुक्त गरी आज आइतबार बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएर आफन्तको जिम्मा लगाइउको पनि उहाँले बताउनुभयो । डिएसपी रिमालका अनुसार उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।