शनिबार मकवानपुरगढी–२, कुर्लेमा कृषि सहकारीमार्फत तरकारी तथा फलफुलमा अनुदान वितरण कार्यको सुरुवात गरिँदै ।

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले तरकारी तथा फलफुलबालीमा नगद अनुदान वितरणको कार्य सुरुवात गरेको छ । मकवानपुरगढी–२, कुर्लेस्थित कुर्ले कृषि सहकारी संस्था लिमिटेडमार्फत कृषकलाई अनुदान रकम वितरण गर्न सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले सहकारीमार्फत किसानलाई अनुदान वितरणको कार्य सुरुवात गर्नुभएको छ ।

गाउँपालिकाले पालिकाका ७ वटा सहकारीलाई सूचीकृत गरेर अनुदान वितरण सुरु गरेको कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ । तरकारी तथा फलफुलमा कृषकलाई नगद अनुदान वितरण गर्न गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तरकारी तथा फलफुलको बजारीकरणलाई प्रोत्साहित गर्न पालिकाले प्रतिकेजी एक रुपैयाँ किसानलाई र एक रुपैयाँ सहकारीलाई अनुदान वितरण गर्ने जनाएको छ ।

यसअघि मकवानपुरगढी गाउँपालिकाले गत आर्थिक बर्षबाट खाद्यान्नमा प्रतिकेजी किसानलाई दुई रुपैयाँ र सहकारीलाई दुई रुपैयाँ नगद अनुदान वितरण गर्न सुरु गरेको थियो । चालु आर्थिक बर्षबाटै गाउँपालिकाले मासुजन्य उत्पादनमा पनि अनुदान दिने कार्यक्रम राखेको कृषि शाखाका प्रमुख चौधरीले जानकारी दिनुभएको छ । मकवानपुरगढी गाउँपालिकामा करिब ८ सय घरपरिवारले व्यावसायिक रुपमा कृषि, फलफुल तथा पशुपंक्षी पालन गरिरहेको बताइएको छ ।

मकवानपुरगढी गाउँपालिकामा तरकारीबालीमा गोलभेँडा, काँक्रो, करेला, भ्यान्टा, बोडी, लौका, घिरौंला, फर्सी, फर्सीको मुन्टा, रायोको सागको व्यावसायिक रुपमा उत्पादन भइरहेको छ भने फलफुलबालीमा केरा र कागती उत्पादन भइरहेको छ । मासुजन्य कृषिमा कुखुरा र खसीबोकाको व्यावसायिक पालन भइरहेको छ ।