वार्ताका लागि उपस्थित स्थानीयहरु ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको सुनाचुरी घटनामा पीडित पक्ष, स्थानीय र सेनाबीच सहमति भएको छ । शनिबार दिउँसो ३ बजेदेखि ३ घण्टासम्म सेना, स्थानीयहरु, पीडित पक्ष र जनप्रतिनिधिहरुले वार्ता गरी सहमति कायम भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयोे ।

सेना, स्थानीय, पीडित पक्ष र जनप्रतिनिधिहरु सबैले नियमको पालना गर्नुपर्ने, कसैलाई अभद्र व्यबहार गरी कुटपिट गर्न नमिल्ने, निश्चित क्षेत्रमा घाँस दाउरा काट्न मिल्ने र पीडित पक्षलाई उपचार गर्नुपर्ने सहमति भएको हो ।

शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सुनाचुरीस्थित राप्तीखोलामा माछा मारेको भन्दै सेनाले मनहरीका २ युवकलाई कुटपिट गरेको थियो । मनहरी–६, सुनाचुरी चौकीटोलका २० वर्षीय विपेन्द्र रुम्बा र सोही स्थानका २६ वर्षीय बुद्धिबहादुर मोक्तानलाई सेनाले कुटपिट गरेको थियो ।

सेनाद्वारा पिटिएका युवाहरुको गल्ती नभएको, सेनाले त्यस्तो व्यवहार गर्न नमिल्ने र सेनाले माफी माग्नुपर्ने भन्दै स्थानीय आक्रोशित बनेका थिए । स्थानीयले घटनाको विषयलाई लिएर शुक्रबार केही समय पूर्व–पश्चिम लोकमार्गसमेत अवरुद्ध गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरसहितको प्रहरी टोलीले त्यसलाई रोकी सडक खुलाएको थियो ।