
हेटौंडाः शिवम् सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम असुल गर्न सचेत नागरिक युवा समूहले नेपाल विद्युत प्राधिकरणको बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडालाई ध्यानाकर्षण गराएको छ । २ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढी बक्यौता भुक्तानी नगरेको शिवम् सिमेन्ट उद्योगसँग बक्यौता रकम असुली गर्न माग गर्दै मंगलबार सचेत नागरिक युवा समूहले नेपाल विद्युत प्राधिकरणको बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाका प्रमुख शशिभूषण साहलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
बक्यौता रकम भुक्तानी नगरे शिवम् सिमेन्ट उद्योगको विद्युत कटौती गर्न पनि सचेत नागरिकले माग गरेको छ । सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठ नेतृत्वको एक समूहले बक्यौता रकम भुक्तानी नगर्दा सर्वसाधारण नागरिकको विद्युत कटौती प्राधिकरणले २ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी नगर्ने शिवम्लाई भने किन विद्युत निरन्तर दिइरहेको भन्दै प्रश्न गरेका थिए ।
प्राधिकरणलाई ध्यानाकर्षण गरेको सचेत नागरिक युवा समूहले प्राधिकरणले बक्यौता असुलीमा ढिलाई गरे संघीय मन्त्रीलाई नै ध्यानाकर्षण गराउने जनाएको छ । सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले राज्यको लगानी रहेको संस्थाले राज्यकै सम्पत्तिको रुपमा बक्यौता असुलीमा ध्यान दिनुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणका डिभिजन प्रमुख शशिभूषण साहको ध्यानाकर्षण गराउनुभयो । सचेत नागरिक युवा समूहसँग ध्यानाकर्षण पत्र बुझ्दै डिभिजन प्रमुख साहले बक्यौता भुक्तानीको विषय वितरण केन्द्रले नै हेर्नुपर्ने बताउनुहुँदै बक्यौता भुक्तानीको विषय केन्द्रीय तहमा विवादित बनेकोले समस्या भएको बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणको हेटौंडा वितरण केन्द्रले मंगलबारै शिवम् सिमेन्ट उद्योगलाई बक्यौता रकम भुक्तानीका लागि पत्राचार गरिसकेको पनि डिभिजन प्रमुख साहले जानकारी दिनुभयो । शिवम् सिमेन्ट उद्योगसँगै १३ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता असुलीको विषय केन्द्रमै छलफल भइरहेकाले पनि केही ढिलाई भएको पनि डिभिजन प्रमुख साहको भनाइ थियो ।
यस्तै सचेत नागरिक युवा समूहले प्राधिकरणले मिटर रिडिङ गर्ने मितिमै रिडिङको कार्य गर्न नसकेको, मिटर रिडिङ भए पनि कम्प्युटरमा समयमै अपडेट नहुँदा ग्राहकले समयमै भुक्तानी गर्दा पाउने छुट सुविधा उपयोग गर्न नपाएको विषयमा पनि प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सचेत नागरिक युवा समूहले विद्युत प्रवाहमा भइरहेको कटौति अघोषित लोडसेडिङ जस्तै भइरहेकोले निरन्तर विद्युत प्रवाहको व्यवस्था मिलाउन पनि सचेत गराएको छ ।