हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राहदानी बनाउन दिनेको संख्यामा कमी आएको छ । बितेको ३ वर्षयता मकवानपुरमा राहदानी बनाउनेहरुको संख्यामा कमी आइरहेको तथ्यांकले देखाएको छ ।
मकवानपुरबाट गत आर्थिक वर्ष २०७७/०७८ मा राहदानी बनाउन साधारणतर्फ ३ हजार ७ सय ८० र दु्रत सिफारिशतर्फ एक हजार ९ सय ३१ जनाको मात्रै भएको छ । राहदानी बनाउन दिएकामध्ये २ हजार २ सय ९ जनालाई प्रशासनबाट राहदानी वितरण भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ । गतवर्ष एक हजार २ सय ५६ थान राहदानी वितरण हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा कोभिडको कारण बाहिर विदेशमा जान मिल्ने वातावरण नबनेकाले पनि राहदानी बनाउन आउनेको संख्यामा कमी आएको हो । २०७५ देखि नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेसँगै वैदेशिक यात्रामा जान जोखिम भएको भन्दै प्रक्रिया झन्झटिलो बनाइएको छ ।
मकवानपुरबाट आर्थिक वर्ष २०७६/०७७ मा भने ४ हजार ३ सय ७४ जनाले साधारणतर्फ र दु्रततर्फ २ हजार ९ सय ५१ जनाको राहदानी बनाउन सिफारिस भएको थियो । यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा राहदानी बनाउन ५ हजार ९ सय ७२ जनाको साधारण सिफारिश र ५ हजार ९८ जनाको दु्रत सिफारिस भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ । यसरी विगतको ३ वर्षमा जिल्लाबाट राहदानी बनाउन आउने संख्यामा कमी आएको छ । कोभिडको समयमा भने प्रशासनमा राहदानी बनाउन आउने भिडभाड देखिन्न । मंगलबार प्रशासन कार्यालयमा पुग्दा सुनसान नै थियो । प्रशासनले भिडभाड नगरी सेवा प्रदान गर्दै आएको छ ।
यता राहदानी बनाउन आउने सबैलाई आप्रवासी स्रोतको सूचना तथा परामर्श केन्द्रले वैदेशिक क्षेत्रमा जाँदा कसरी सुरक्षित हुने भनेर परामर्श प्रदान गर्दै आएको छ । राहदानी बनाउन आउने अधिकांशलाई परामर्श सेवा दिएको परामर्शदाता पार्वत विकले बताउनुभयो । राहदानी बनाउन आएकाहरुलाई कुन देश जाँदै हुनुहुन्छ, नेपालको एयरपोर्टबाटै मात्र जानुपर्ने, आफू जाने देशको भाषा, कानुन, कामको विषयमा सामान्य जानकारी राख्नुपर्ने, परिवारलाई जानुभन्दा अघि वैदेशिक कार्यको कागजपत्रको प्रतिलिपि दिएर जानुपर्नेजस्ता विषयमा परामर्श दिइँदै आएको उहाँले बताउनुभयो ।
पछिल्लो समय अधिकांश महिलाहरु पनि राहदानी बनाउन आउने गरेका छन् । उनीहरुलाई कुन देश जाने, कोमार्फत् जाने, कुन कामका लागि जाने पनि थाहा नभएका घटनाहरु पनि अघि आएका छन् । यस्तै, आप्रवासी स्रोत केन्द्रले विदेशमा गएकाहरु अलपत्र परे वा समस्यामा परे भने समन्वय र सहजीकरणसमेत गर्दै आएको छ ।
नागरिकता लिनेको संख्या बढ्यो
मकवानपुरमा नागरिकता लिनेको संख्या भने बढेको छ । बंशजको आधारमा जिल्लाका ११ हजार १३ जनाले गत आर्थिक वर्षमा नयाँ नागरिकता प्राप्त गरेको हुन् । यो आर्थिक वर्ष २०७६/०७७ भन्दा बढी रहेको छ । गतवर्ष जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ५ हजार ७७ जना पुरुष र ५ हजार ९ सय ३६ जना महिलालाई बंशजको आधारमा नयाँ नागरिकता जारी भएको हो ।
यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ७ हजार ९ सय १८ जनाले मात्रै बंशजको आधारमा नागरिकता लिएका थिए । गत आर्थिक वर्षमा भने ४ हजार बढीलाई नागकिरकता दिन प्रशासन सफल भएको छ । यसैगरी गत आर्थिक वर्ष २०७७/०७८ मा ९ हजार ४ सय जनालाई प्रतिलिपि नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जिल्लामा गत आर्थिक वर्षमा मात्रै ५ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ मा भने ९ जनाले अंगीकृत नागरिकता पाएका थिए । यसैगरी ४ हजार ५ सय १६ पुरानो नागरिकताको अभिलेखीकरण भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवापनुरले गतवर्षमा मात्रै १ सय ८ वटा नाबालक परिचयपत्र जारी गरेको छ ।