बिहीबार चुरियामाई सुरुङमार्ग पुनर्निर्माण कार्यको शिल्यान्यास कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल ।

हेटौंडाः बागमती प्रदेश सरकारले चुरियामाई सुरुङमार्गको पुनर्निमाण गरी यसलाई पर्यटकीय स्थल र अध्ययन केन्द्रको रुपमा विकास गर्ने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । बिहीबार सुरुङमार्ग पुनर्निर्माण कार्यको शिल्यान्यास गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सुरुङमार्गको पुनर्निर्माणपछि यसमा सवारी साधन चलाउने उद्देश्य नभएर पर्यटकलाई अवलोकन गराउने र अध्ययन स्थलका रुपमा विकास गरेर लैजाने बताउनुभयो ।

अबको युगमा उक्त सुरुङमार्गलाई पर्यटन क्षेत्रसँग जोड्ने उहाँको भनाई रहेको छ । चुरियामाई सुरुङले सिंगो इतिहासलाई बचाउनेमात्र नभएर सबै क्षेत्रको विकासलाई जोड्ने पनि उहाँले बताउनुभयो । यस स्थानमा सुरुङ हेर्नका लागि टाढा–टाढाबाट मानिस आउने र पर्यटक वृद्धि गर्नका लागि मेला लाग्ने अवस्था सिर्जना गरेर आर्थिक रुपान्तरण गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभएको छ ।

१ सय ४ वर्ष अगाडि पहिलो सुरुङमार्ग बनेपछि दोस्रो सुरुङमार्ग भर्खरै निर्माण सुरु भएको अवस्थामा त्यसबेलाको समयमा पनि सुरुङमार्गको निर्माण गर्नसक्ने उच्च दिमाग भएका मानिस भएको भन्नुहुँदै उहा“ले सुरुङसम्बन्धी अध्ययन गर्नेहरुका लागि चुरियामाई सुरुङ अध्ययन तथा भ्रमण गरी केही सिक्नका लागि उपयुक्त स्थान हुने बताउनुभयो ।

वि.सं. २०१९ सालमा आफैं उक्त सुरुङमार्गबाट यात्रा गरेको क्षणलाई सम्झनुहुँदै मुख्यमन्त्री पौडेलले यसले एउटा इतिहास बोकेको भएकाले इतिहासलाई मर्न दिन नहुने, यसलाई निर्माण गर्नुहुने डिल्लीजंग थापाको जीवन्त इतिहासलाई कायम राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाहे हिजो जुनसुकै कालमा होस्, राणाकालमा वा राजाकालमा भएपनि उहाँहरुले गरेका कामलाई हेर्ने हो र त्यो काम नेपालको इतिहासमा कहिल्यै चाहेर पनि नमेटिने काम हो । त्यसैले यो कामलाई जीवन्तता दिनुपर्छ ।’

सुरुङमार्ग मकवानपुर र बारा जिल्ला जोड्नेमात्र नभएर बागमती प्रदेश र २ नं. प्रदेशलाई नै जोड्ने ऐतिहासिक स्थलको रुपमा हेर्नुपर्ने उहाँको भनाई रहेको छ । चुरियामाई सुरुङमार्गमा एउटा प्रदेशबाट छिरेपछि २ सय मिटरको दुरीमा अर्को प्रदेशमा निस्कने यस्तो ऐतिहासिक रुपमा समेत यो सुरुङ रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।