तस्बिरः गुगल ।

हेटौंडाः खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा मकवानपुरमा एक बालकको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिकाका १० बर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा बागमती–८ शान्तिपुरका सागर सारु रहेका छन् । उनको मंगलबार दिउँसो ४ बजेको समयमा घर नजिकैको खोलाको बगरमा भएको खाल्डोमा जमेको पानीमा पौडि खेल्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । बालकको शव पोष्टमार्टमको लागि मंगलबार साँझ नै हेटौंडा अस्पताल ल्याइएको उहाँले बताउनुभयो ।

बालकको मृत्यु भएपछि स्थानीयहरुले बुधबार कालिका कन्ट्रक्सन प्रा.लि.मा तोडफोड गर्नुका साथै एउटा सवारीमा आगजनी समेत गरेका छन् । कन्ट्रक्सन कम्पनीले जथाभावी रुपमा खाल्डो खनेर छाडेका कारण सोही खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको भन्दै स्थानियहरुले कालिका कन्ट्रक्सन प्रा.लि.ले संचालन गरिरहेको एक बोलेरो गाडीमा आगजनी गरेका छन् । स्थानीयहरुले कन्ट्रक्सन कम्पनीमा ढुङ्गा, मुढा पनि गरेका थिए ।