हेटौंडाः मकवानपुरमा विद्युत सेवा लिने सेवाग्राहीको संख्या बढ्दै गएको छ । स्थानीय सरकार आएपछि जिल्लाका विकट क्षेत्रमा पनि विद्युत् सेवा प्रवाह हुन थालेपछि जिल्लामा सेवाग्राहीको संख्या बढेको हो ।
विद्युत प्राधिकरणमा सेवा विस्तारका लागि विनियोजन हुने बजेटमा मकवानपुरका गाउँपालिकाहरुले समेत बजेट प्रदान गरी गाउँपालिकामा विद्युत् सेवा बिस्तार गरेका कारण विकट क्षेत्रका स्थानीयबासीहरुले समेत उज्यालोको महसुस गर्न पाएका छन् । आर्थिक वर्ष २०७६-०७७ मा मकवानपुरको बागमती गाउँपालिका आफैंले लगभग १ करोड रुपैयाँ बजेट प्रदान गरेर गाउँपालिकामा विद्युत सेवा विस्तार गरेको प्राधिकरणका लेखा अधिकृत मनिराम पौडेलले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिरकण हेटौंडा वितरण केन्द्रमा आर्थिक वर्ष २०७७-०७८ मा झण्डै साढे ५ हजार सेवाग्राही थपिएका छन् । गत आर्थिक वर्षको अन्तिमसम्ममा मकवानपुरका थप ५ हजार ४ सय ५१ जना सेवाग्राहीहरुले विद्युतको नयाँ मिटर जडान गरी सेवा लिएको प्राधिकरणले जनाएको छ । यो संख्या आर्थिक वर्ष २०७६-०७७ भन्दा बढी रहेको छ । प्राधिकरणको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६-०७७ मा ५ हजार ६७ जनाले विद्युत सेवा लिएका थिए । योसँगै आर्थिक वर्ष २०७७-०७८ को अन्त्यसम्ममा मकवानपुरमा विद्युत सेवा लिनेको कुल संख्या ६६ हजार ५ सय ११ पुगेको छ ।
मकवानपुरका साढे ६६ हजार सेवाग्राहीलाई नेपाल विद्युत् प्राधिकरण हेटौंडाले २ वटा ग्रिडबाट ११ वटा फिडरमार्फत् विद्युत् वितरण गरिरहेको छ । जसमा हेटौंडाको चौकीटोल ग्रिडबाट ८ वटा फिडर र कमाने ग्रिडबाट ३ वटा फिडरमार्फत् विद्युत् वितरण भइरहेको प्राधिकरणका निमित्त केन्द्र प्रमुख तथा इन्जिनियर सन्तोषकुमार चौहानले जानकारी दिनुभयो । चौकीटोल ग्रिडका ८ वटै फिडरमा ११ केभीको प्रसारण लाइन रहेको छ । चौकीटोल ग्रिडबाट प्रसारण हुने फिडरमा भूटनदेवी फिडर, चौघडा फिडर, बंशगोपाल फिडर, युनिलिभर फिडर, एचआइडी फिडर, भैंसे फिडर, ग्रामीण फिडर र एनसेल फिडर रहेका छन् ।
युनिलिभर फिडरको प्रसारण लाइन मनहरी हुँदै राक्सिराङ र कैलाश गाउँपालिकासम्म पुगेको छ भने ग्रामीण फिडरको लाइन राइगाउँसम्म विस्तार भएको छ । कमाने ग्रिडबाट प्रसारण हुने रंगशाला फिडर पनि ११ केभीको रहेको छ, जुन हेटौंडाको गौरीटार रंगशालादेखि चिसापानीसम्मको क्षेत्रमा विद्युत् वितरण गरिएको छ । यसैगरी शिवम् सिमेन्ट फिडर र ऋद्धिसिद्धि सिमेन्ट फिडरमा भने ३३ केभीको रहेको जनाइएको छ । यस्तै मनहरीको केही क्षेत्रमा भने चितवन जिल्लाबाट विद्युत् ल्याएर वितरण गरिएको प्राधिकरणले जनाएको छ । हेटौंडा वितरण केन्द्रबाट लाइन लैजान टाढा पर्ने भएको र बढी खर्च लाग्ने भएकाले चितवनबाट प्रसारण लाइन बिस्तार गरी विद्युत् सेवा प्रदान गरिएको निमित्त केन्द्र प्रमुख चौहानले बताउनुभयो ।
२ अर्ब ३० करोड महसुल संकलन
नेपाल विद्युत् प्राधिकरण हेटौंडाले एक वर्षमा २ अर्ब २९ करोड ८९ लाख २० हजार १ सय २० रुपैयाँ विद्युत् महसुल रकम संकलन भएको छ । आर्थिक वर्ष २०७७-०७८ को सुरुवातदेखि असार मसान्तसम्ममा विद्युत् महसुल रकमबापत सेवाग्राहीहरुबाट उक्त रकम आम्दानी भएको प्राधिरकणका लेखा अधिकृत पौडेलले जानकारी दिनुभयो । जिल्लामा सेवाग्राहीको संख्या बढेसँगै विद्युत् महसुलबापत आम्दानी हुने रकम पनि बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा १ अर्ब ७७ करोड ९९ लाख ६४ हजार २ सय ६५ रुपैयाँ विद्युत् महसुल संकलन भएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७७-०७८ को अन्त्यसम्ममा २ अर्ब ४ करोड २२ लाख ७६ हजार रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको छ । जसमा झण्डै २ अर्ब रुपैयाँ महसुल शिवम् सिमेन्टले तिर्न बाँकी रहेको छ । शिवम्ले २५ प्रतिशत जरिवानाबिना नै १ अर्ब ९९ करोड १८ लाख ७ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै जिल्लामा रहेका क्रसर उद्योगहरुबाट पनि महसुलबापत रकम उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
यसैगरी प्राधिकरणले विद्युत् मिटर बिक्री, कार्ड, शिलचार्ज, सर्भिस चार्ज तथा लोड इन्क्रिज–डिक्रिज चार्जलगायतका सेवाहरु प्रदान गरेबापत आर्थिक वर्ष २०७७-०७८ मा ३ करोड ४० लाख १६ हजार ६ सय ६२ रुपैयाँ आम्दानी गरेको जनाएको छ । आर्थिक वर्ष २०७६-०७७ मा भने ४ करोड ३१ लाख ६८ हजार २ सय २९ रुपैयाँ आम्दानी भएको लेखा अधिकृत पौडेलले जानकारी दिनुभयो ।
विद्युत गइरहने समस्या चाँडै हट्ने
पछिल्लो समय हेटौंडामा विद्युत गइरहने समस्याले हेटौंडाबासीहरु हैरान भएका छन् । लोडसेडिङ हटिसकेको भएपनि बेलाबेलामा लाइन कटिरहँदा हेटौंडाबासीले अघोषित लोडसेडिङ भएको भन्दै आक्रोषित हुँदै आएका छन् । तर लाइन गइरहनु लोडसेडिङ नभएर विद्युत ओभरलोड भएका कारण समस्या आइरहेको प्राधिकरणका इन्जिनियर सन्तोषकुमार चौहानले जानकारी दिनुभयो ।
कतिपय स्थानमा ट्रान्सफर्मरमा नै लोड बढी भएका कारण फ्युज झर्ने गरेको उहाँले बताउनुभयो । केही दिनयता हेटौंडाको कमाने र नागस्वती क्षेत्रमा सोही समस्या देखिएका कारण त्यस क्षेत्रमा समस्या समाधान भएको जनाइएको छ । हेटौंडा–८ कमानेको भीमसेन मार्गमा रहेको एक सय केभीको ट्रान्सफर्मरलाई अपग्रेड गरेर एक सय ५० केभीको बनाइएको तथा हेटौंडा–७ नागस्वतीमा २ सय केभीको ट्रान्सफर्मर रहेकोमा थप अर्को एउटा २ सय केभीको ट्रान्सफर्मर जडान गरिएको चौहानले जानकारी दिनुभयो । अबका दिनमा उक्त क्षेत्रमा यस किसिमको समस्या नदेखिने पनि उहाँले बताउनुभयो ।