हेटौंडा पमहानगरपालिका वडा नं. ९ स्थित लामसुरे शहरी स्वास्थ्य केन्द्रमा मंगलबार कोरोना भाइरस बिरुद्धको अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाइँदै ।

हेटौंडाः अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको कोरोना भाइरसविरुद्धको खोप मकवानपुर जिल्लामा झण्डै ८ हजार जनाले लगाएका छन् । मंगलबार जिल्लाका ८ वटा स्थानीय तहमा सुरु गरिएको खोप कार्यक्रममा ७ हजार ८ सय २९ जनाले कोरोनाविरुद्ध जोन्सनको खोप लगाएका हुन् ।

मकवानपुर जिल्लाको ईन्द्रसरोवर र कैलाश गाउँपालिकाबाहेक अन्य स्थानीय तहले मंगलबार र बुधबार जोन्सनको खोप लगाउने कार्यक्रम तय गरेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । ईन्द्रसरोबर र कैलाश गाउँपालिकाले भने आज बुधबार कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यक्रम तय भएको घिमिरेले बताउनुभयो ।

मकवानपुर जिल्लाका लागि जोन्सनको खोप करिब २३ हजार डोज आएको थियो । हेटौंडा उपमहानगरपालिका लगायत जिल्लाका ८ वटा स्थानीय तहले स्वास्थ्य कार्यालयबाट प्राप्त जोन्सन खोप मंगलबार र बुधबार दुई विभिन्न स्वास्थ्य चौकी तथा खोप केन्द्रमा लगाउने कार्यक्रम तय गरिएको छ । एक डोजमात्र लगाए हुने जोन्सन खोपको लक्षित वर्गमा ५० देखि ५४ वर्षका नागरिक, वैदेशिक रोजगारीमा जाने व्यक्ति र अपाङ्ता भएका व्यक्ति रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा प्राप्त खोपमध्ये करिब १७ हजार स्थानीय तहहरुलाई बाँडिएको र ४ हजार खोप औद्योगिक क्षेत्रभित्रका मजदुरहरुलाई लगाउने योजना रहेको घिमिरेले बताउनुभयो । मंगलबार हेटौंडा उपमहानगरपालिकाका ५ हजार १ सय १९ जनाले जोन्सनको खोप लगाएका छन् । थाहा नगरपालिकाका ८ सय ६० जना, बकैया गाउँपालिकाका ५ सय ७०जना, मकवानपुरगढी गाउँपालिकाका ३ सय ४१ जना, मनहरी गाउँपालिकाका २ सय ७८ जना, भीमफेदी गाउँपालिकाका २ सय ६८ जना, बागमती गाउँपालिकाका २ सय ५ जना र राक्सिराङ गाउँपालिकाका १ सय ८८ जनाले मंगलबार जोन्सनको खोप लगाएको उहाँले जानकारी दिनुभयो ।