हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन नगराउन अनुरोध गरेको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले सोमबार सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका कारण कुनै पनि बहानामा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुरोध गरेको हो ।
नगरभित्रका केहीे विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरेको गुनासो तथा जानकारी प्राप्त भएको भन्दै जारी सूचनामा विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराई पठनपाठन गर्ने तथा गृहकार्य दिनेजस्ता क्रियाकलाप तत्काल बन्द गरी वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिन जानकारी गराइएको छ ।
आइतबार बसेको नगर शिक्षा समितिको निर्णय अनुसार कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले कुनै पनि कारण देखाई भौतिक उपस्थितिमा पठनपाठन नगर्न नगराउनुहुन भनिएको छ । सूचनालाई अटेर गरेमा शिक्षा ऐन नियम तथा संक्रामक रोग ऐन २०२० अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट निर्देशित सिकाईका वैकल्पिक माध्यमहरु, वैकल्पिक सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम तथा शिक्षा विकास महाशाखाबाट जारी निर्देशनबमोजिम गर्न सूचना जारी गरिएको महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो ।