हेटौंडाः त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको अन्तिम परीक्षा साउन १० गते आइतबारबाट सुरु गरेको छ । कोरोना भाइरस संक्रमण जोखिम बढेपछि भएको निषेधाज्ञाका कारण स्थगित परीक्षा कोरोना संक्रमण जोखिमकै बीचमा सुरु गरिएको हो ।
स्वास्थ्य सुरक्षा मापदण्डको पूरा पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । मकवानपुर जिल्लाका स्नातक तह अध्यापन गराउने विभिन्न क्याम्पसमा परीक्षा सुरु भएको छ । तर, परीक्षा सञ्चालन अघि र पछि विश्वविद्यालयले गरेको निर्देशनबमोजिम स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको देखिएन ।
सोमबार हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा परीक्षा दिन सयौंको संख्यामा बाहिरी जिल्लाबाट समेत परीक्षार्थीहरु आएका थिए । परीक्षा दिन आएका परीक्षार्थीलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने जिम्मेवारी क्याम्पसको हो । धेरै विद्यार्थीको बीचमा भौतिक दुरी पालना नभएकोमात्र होइन, क्याम्पसले विद्यार्थीको ज्वरो नाप्ने तथा सेनिटाइजर प्रयोग गर्ने सामान्य स्वास्थ्य सुरक्षा कायम गरेको पाइएन । विद्यार्थीलाई सिधै क्यापसको परीक्षा हलमा प्रवेश अनुमति दिइएको थियो भने क्याम्पस परिसरमा रहेका अधिकांश विद्यार्थीहरु बिना मास्क एक–आपसमा गफ गरिरहेका थिए ।

हेटौंडा क्याम्पसमा आइतबारबाट सुरु भएको स्नातक तह प्रथम वर्षको अन्तिम परीक्षामा ७ सय ६७ जना विद्यार्थी उपस्थित भएको क्यापस प्रमुख देवचन्द्र मानन्धरले जानकारी दिनुभयो । परीक्षाका लागि एउटा बेन्चमा २ जनाका दरले प्रत्येक कोठामा न्यूनतम २४ जनादेखि अधिकता ५४ जनासम्म विद्यार्थीहरु राखिएको उहाँले बताउनुभयो । हेटौंडा क्याम्पसमा हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको परीक्षा केन्द्र कायम गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा जिल्लाकै सबैभन्दा बढि विद्यार्थी अध्ययनरत भएका कारण परीक्षार्थीहरु धेरै भएकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गराउन नसकिएको क्याम्पस प्रमुख मानन्धरले स्वीकार गर्नुभयो ।
मकवानपुर बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा सोमबारको परीक्षामा ३ सय २ जना परीक्षार्थी उपस्थित भएको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख शंकर उपाध्यायले जानकारी दिनुभयो । विद्यार्थीलाई अनिवार्य माक्स, सेनिटाइजर तथा ज्वरो नाप्ने व्यवस्था गरेर परीक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । परीक्षा हलभित्र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिएको भए पनि क्याम्पस परिसर तथा बाहिर परीक्षार्थीबीच भौतिक दुरी कायम गर्न भने नसकिएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
‘गेटबाहिर सयौंको संख्यामा विद्यार्थी रहँदा क्याम्पस बाहिर स्वास्थ्य सुरक्षा मापदण्डको पालना सम्भव नै छैन’, क्याम्पस प्रमुख उपाध्यायले भन्नुभयो– ‘त्यत्रो भिडमा कसरी स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्नु ?’ प्रत्येक कोठमामा २५/२५ जनाका दरले परीक्षार्थीहरु राखेर परीक्षा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
राम्रो नतिजाको सम्भावना कम
हेटौंडा क्यापसमा परीक्षा दिन आउनुभएका रोशन विश्वकर्माले क्याम्पसमा पढाई तथा परीक्षाको तयारी राम्रोसँग नभएका कारण यसवर्षको नतिजा कमजोर हुनसक्ने बताउनुभयो । मकवानपुर बहुमुखी क्यापसका विद्यार्थी रोशनले भन्नुभयो– ‘एक वर्षको अवधिमा पूरा गर्नुपर्ने कोर्स ६ महिनामै निषेधाज्ञा सुरु भएपछि अलपत्र पर्यो ।‘ परीक्षा हुने–नहुने, कहिले हुने भन्ने अन्यौलले आफूजस्तै अधिकांश विद्यार्थीले छोटो समयमात्र परीक्षा तयारीमा लगाएको उहाँले बताउनुभयो ।
लामो सयम निषेधाज्ञाका कारण पढाइ हुन सकेन । क्याम्पसले अनलाइन कक्षा सञ्चालन गरेको भए पनि सबै विद्यार्थी सहभागी नभएकाले प्रभावकारी नभएको उहाँले बताउनुभयो । परीक्षामा कतिपय विद्यार्थी उपस्थित हुन नसकेको भन्दै विश्वविद्यालय अहिले सञ्चालन गरेको परीक्षा नाममात्रको भएको उहाँले दावी गर्नुभयो । छोटो समयमा नै विश्वविद्यालयले परीक्षा सञ्चालन गर्दा सबै विद्यार्थीले परीक्षाको तयारी गर्न नसकेकाले परीक्षाको नतिजा खस्किने उहाँको भनाई छ ।