हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा नेकपा एमाले गाउँपालिका कमिटीको सचिवालय बैठक बसेको छ । नेकपा एमालेको सचिवालय बैठक ४ वर्षअगाडि फर्किएर बसेको हो ।
नेकपा पार्टी एकता हुनुअगाडिको नेकपा एमालेमा रहेका पार्टीका संयोजकसहित सचिवालय सदस्यहरुको उपस्थितिमा बैठक बसेको जनाइएको छ । जसअन्तर्गत् बैठकमा हालका ओली पक्ष र नेपाल पक्ष दुबै समूहको उपस्थिति रहेको एमाले गाउँपालिका कमिटीका तत्कालीन सह–संयोजक बिदुर हुमागाईंले जानकारी दिनुभयो । केन्द्रमा जेजस्तो भए पनि पालिकाभित्र एमालेलाई एक ढिक्का बनाए लैजाने, आगामी साउन १६ गते पार्टीको पूर्ण कमिटी बैठक राख्ने तथा यसका लागि तयारी थाल्ने निर्णयहरु भएको उहाँले बताउनुभयो । यसैैगरी बैठकमा नेकपा पार्टी एकता भएपछि हालसम्मका घटनाक्रमको समीक्षा भएको पनि उहाँले जानकारी दिनुभएको छ ।
केन्द्रमा जति नै मनमुटाव भएपनि पालिकामा सबैजना एक ढिक्का नै रहेको र केन्द्रमा पनि सबैजना मिल्नुपर्ने भनाई बैठकमा सहभागीहरुले व्यक्त गरेको हुमागाईंले बताउनुभयो । एमालेमात्र नभएर माओवादी कमिटीका साथीहरु पनि पार्टीगत हिसाबले अलग भए पनि भावनात्मक रुपले एउटै पार्टीजस्तो रहेको उहाँको भनाई रहेको छ । बैठकमा तत्कालीन गाउँपालिका कमिटीका सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य तथा प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेकपा एमालेका तत्कालीन संयोजक तेजप्रसाद लम्सालको सभाध्यक्षतामा बसेको बैठकमा तत्कालीन प्रदेश कमिटी सदस्य हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी तत्कालीन जिल्ला उपाध्यक्ष बद्री लम्साल, जिल्ला सदस्य हरि अधिकारी, प्रितमराम रुम्बा, हाल नेपाल पक्षका गाउँपालिका सचिव रामजी सापकोटालगायतकाको उपस्थिति रहेको थियो ।