हेटौंडाः मकवानपुरमा अर्को एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी साउन १४ गतेसम्म निषेधाज्ञालाई जारी राख्ने निर्णय गर्दै निषेधाज्ञा थप गरेको हो ।
मकवानपुरमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ सयभन्दा माथि रहेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको जनाइएको छ । सो बैठकले साउन ७ गते राति १२ बजेदेखि साउन १४ गते बिहीबार राति बजेसम्म गरी थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
बैठकले जिल्लामा कोरोना संक्रमितको दर घट्दै गएको भएपनि, जोखिम यथावत नै रहेको हुँदा संक्रामक रोग ऐन २०२० को दफा २, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय गरेको प्रजिअ पाण्डेले बताउनुभयो । गत बैशाख २१ गतेबाट जारी निषेधज्ञालाई साउन १४ गतेसम्म थप गरिएको हो ।
निषेधज्ञामा यसअघिका निर्णयहरुलाई नै यथावत राखिएको छ । जसअनुसार बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यान्न तथा तरकारी व्यवसाय सञ्चालन गर्न पाइनेछ भने बिहान ११ बजेबाट साँझ ६ बजेसम्म अन्य गैरखाद्यान्न व्यवसायहरु सञ्चालन हुनेछन् ।