हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशनमा हेटौंडामा एक साताका लागि आयोजना गरिएको मास्क अभियान सम्पन्न भएको छ । गत असार २९ गतेदेखि एक साताका लागि विभिन्न स्थानमा आयोजना गरिएको मास्क अभियान कार्यक्रम अन्तर्गत केही स्थानमा अभियान सकारात्मक रुपमा सम्पन्न भएको छ भने अधिकांश स्थानमा अभियान प्रभावकारी हुन सकेन ।
हेटौंडाका क्रियाशिल विभिन्न संघसंस्थाहरुले हेटौंडाका विभिन्न स्थानमा छुट्टाछुट्टै रुपमा हेल्पडेस्क स्थापना गरी मास्क वितरण तथा जनचेतना फैलाउने कार्य गरेका थिए । तर हेटौंडाको बसपार्क, सीमाचोक, बुद्धचोक र रक्तसंचार केन्द्र अगाडी बाहेक अन्य स्थानमा राखिएको हेल्पडेस्कमा खासै मास्क वितरणको प्रभाव देखिएन । अन्य स्थानहरुमा रहेका हेल्पडेस्कमा स्वयंसेवकहरु मन लागे बसेर मास्क वितरण गर्ने नत्र नबस्ने गरेको पाइएको थियो । विभिन्न समयमा मास्क अभियानको विषयमा बुझ्न जाँदा कतिपय स्थानमा मास्क वितरण गर्ने स्वयंसेवक नै भेट्टाउन सकिएन । केही स्थानमा हेल्पडेस्कको ब्यानर मात्र टाँगिएको थियो भने कतिपय स्थानमा हेल्पडेस्क कहाँनेर छ भनेर नै पत्ता लगाउन सकिएन ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मास्क अभियान संचालन गर्न निर्देशन दिएको थियो । तर अभियानमा खटिएका अधिकांश हेल्पडेस्क ४ नबज्दै खाली हुने गरेका थिए । गत शनिबार बिहान १० बजे मकवानपुर उद्योग वाणिज्य संघ अगाडी मास्क वितरण भइरहेको थियो तर दिउँसो ४ बजे पुनः पुग्दा त्यहाँ हेल्पडेस्कको ब्यानर समेत पाउन सकिएको थिएन । मकवानपुर उद्योग वाणिज्य संघले नै स्थापना गर्ने भनी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त निर्देशन अनुसार उक्त स्थान र हेटौंडा–४ स्थित शीतलमहल चोकमा हेल्पडेस्क स्थापना गरिएकोमा बिहान १० बजेको समयमा भएको हेल्पडेस्क दिउँसो ४ बज्दा दुबै स्थानमा हटिसकेको थियो ।
हेटौंडाको सीमाचोकमा जिल्ला सहकारी संघ अन्तर्गतका सहकारी संस्थाहरुले माक्स वितरण अभियान संचालन गरेको थियो । अभियानमा दैनिक १ हजार माक्स वितरण भएको अभियानमा संलग्न सहकारीकर्मी रविन प्रसाद आचार्यले जानकारी दिनुभयो । माक्स नलगाई हिड्ने नागरिकलाई माक्स वितरण गर्ने तथा सेनिटाइजर लगाइदिने गरेको पनि उहाँले बताउनुभयो । जिल्ला अदालत बार एशोसिएसन मकवानपुरले पनि असार २९ गतेबाट माक्स अभियान संचालन गरेको थियो । जिल्ला अदालत र उच्च अदालत पाटन नजिकै भएकाले त्यहाँ आउने सेवाग्राहीहरु र सर्वसाधारणलाई लक्षित गरी हेटौंडाको मानसचोकमा मास्क अभियान संचालन गरिएको जिल्ला बार एसोसिएसनका अध्यक्ष रिसी केबी.ले जानकारी दिनुभएको थियो । तर शनिबार भने मानस चोक सुनसान देखिएको थियो ।
जिल्ला अदालत र उच्च अदालतअगाडी अभियान संचालन गर्न निर्देशन पाएको बार एशोसियसनको हेल्प डेस्क शनिबार छुट्टीको दिन भएर बन्द भएको भनिएपनि मानसचोकमा नै अभियान संचालन गर्न जिम्मेवारी पाएको लायन्स तथा लियो क्लबको हेल्प डेस्क पनि शनिबार भेट्टाउनै सकिएन । लियो तथा लायन्स क्लबहरुले नै बुद्ध चोकमा भने निरन्तर रुपमा अभियान संचालन गरिरहेका थिए । बुद्धचोकमा मास्क अभियानको कार्यक्रम संयोजक समेत रहेका लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका वर्ष २०२१/२०२२ का अध्यक्ष कुमार पोखरेलले दैनिक रुपमा ७ सय ५० देखि १ हजार वटा मास्क वितरण गरिएको जानकारी दिनुभयो ।
यसैगरी अभियानको बारेमा बुझ्नकै लागि पुग्ने क्रममा राष्ट्रिय परिक्षा बोर्डको कार्यालय अगाडी मास्क अभियानको जिम्मा पाएको राडो नेपाल र ओम भवन अगाडीको जिम्मेवारी पाएको रोटरी क्लब अफ हेटौंडाको हेल्प डेस्कको ब्यानर मात्र भेटिएको थियो । हेटौंडा–११ स्थित यातायात कार्यालय अगाडी पुग्दा पनि अभियानको जिम्मेवारी पाएको महिला तथा बालबालिका सरोकार केन्द्रको कुनै हेल्प डेस्क तथा ब्यानर नै फेला परेन ।
हेटौंडाको बसपार्क क्षेत्रमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सञ्जाल हेटौंडाले प्रभावकारी रुपमा अभियान संचालन गरेको पाइएको छ । विभिन्न २२ वटा मानव अधिकारसँग सम्बन्धित संघसंस्थाहरुको समन्वयमा अभियान संचालन गरिएको बसपार्क क्षेत्रमा एक हप्तामा ११ हजार ३ सय २५ वटा मास्क वितरण तथा २० लिटर सेनिटाइजर प्रयोग भएको मानब अधिकार संरक्षण तथा मानब बेचबिखन बिरुद्वको संजाल एबं अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले जानकारी दिनुभयो । बसपार्कमा एक हप्ता सम्म २२ बटा संस्थाहरुद्वारा पालैपालो काम गर्ने कार्ययोजना बनाएर अभियान संचालन गरिएको थियो ।
संजालले बसपार्क क्षेत्रमा पुनः थप एक हप्ता ‘मास्क लगाऔ अभियान’ संचालन गरिने जनाइएको छ । बसपार्कमा मास्क अभियान प्रभावकारी रुपमा संचालन भएको देखिएपछि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको आग्रहमा अभियान एक हप्ताको लागि थप गरिएको अध्यक्ष पाठकले जानकारी दिनुभयो । मास्क अभियान संचालन हुनु अगाडी पनि बसपार्क क्षेत्रमा साना हातहरु लगायत विभिन्न संघसंस्थाहरुले मानब बेचबिखन बिरुद्व काउन्सिलिंग संचालन गर्दै आएको थियो । यस्तै रक्तसञ्चार केन्द्र अगाडी नेपाल रेडक्रस सोसाइटीले हेल्प डेस्क स्थापना गरी मास्क वितरण गरेको थियो भने उद्योग संघ मकवानपुरले हेटौंडा औद्योगिक क्षेत्रमा मास्क अभियान संचालन गरेको जनाएको छ ।