हेटौंडाः नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । हेटौँडास्थित नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको भेलामा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यमा भेला भएको हो । नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरका सह–इञ्चार्ज केशव रसाईलीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य युक्तलाल विश्वकर्माको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनन्त पौडेलले आफू लामो समयदेखि दलितहरुको हक अधिकार प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै जातीय भेदभाव र छुवाछुत गर्ने अधिकार कसैलाई नभएको बताउनु भयो । उहाँले जुनसुकै पार्टी वा व्यक्तिले जातीयताको आधारमा छुवाछुत गर्छ भने कानुनी कठघरामा ल्याउनु पर्ने बताउनु भयो । रुपा सुनारको घट्नाको स्मरण गर्दै पौडेलले उक्त विषयलाई महत्वका साथ प्रदेश कमिटीमा उठाएको र फलस्वरुप शिक्षामन्त्रीले माफी समेत मागेको दावी गर्नु भयो ।
कार्यक्रमका नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य युक्तलाल विश्वकर्माले सम्पूर्ण दलित समुदायहरु एकजुट हुन पर्ने र राजनीति बुझ्नु पर्ने कुराको ध्यानाकर्षण गराउनु भएको थियो । विश्वकर्माले जातीय छुवाछूतमुक्त राष्ट्र घोषण गर्न, दलित आयोग गठन गर्न नेपाल उत्पीडित जातीय मुक्ति समाजको ठूलो भूमिका रहेको बताउनु भयो ।
कमल कुमार विश्वकर्माले सहभागिहरुले राखेका प्रश्नको जवाफ दिँदै दलित समुदायलाई तालिम, अन्तरक्रिया, छलफल, गोष्ठीमार्फत सचेत गराउनुपर्ने आवश्यता औँल्याउनुभयो । उहाँले सम्पूर्ण जनसमुदायलाई आफ्नो पार्टीप्रति बफादार हुन र उत्पीडित समुदायहरु एकजुट भई आफ्नो हक अधिकार प्राप्तिका लागि सजग र सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रममा मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरु, दलित विद्यार्थी, विभिन्न दलित संगठनमा आवद्ध रहेका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सम्मेलन आयोजक कमिटी गठन
हेटौंडाः नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरले जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ । अगुवा कार्यकर्ता भेलाले गोविन्द विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय आयोजक कमिटी गठन गरेको हो ।
सम्मेलन आयोजक कमिटीको सह–संयोजकमा राधा विश्वकर्मा, सचिवमा राजु नेपाली र कोषाध्यक्षमा रामचन्द्र सदाशंकर चयन भएका छन् । सचिवालय सदस्यमा उषा परियार, रुपक कालिराज, मनोज कालिराज, विशु सिन्च्यूरी, मन्दिप विश्वकर्मा र शान्ति विश्वकर्मा चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य कमल कुमार विश्वकर्माले जानकारी दिनु भयो ।