भर्चुअल माध्यमबाट गरिएको पालिकास्तरीय कविता प्रतियोगितामा सहभागिहरु ।

हेटौंडाः मकवानपुरको अग्रणि साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले २६७ औं साहित्य श्रृंखलाको क्रममा बिहीबार बकैया गाउँपालिका विशेष विद्यालयस्तरीय कविता प्रतियोगिता गरेको छ । भर्चुअल माध्यमबाट गरिएको प्रतियोगिता परिवारका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको हो ।
कवि जनार्दन खनालको प्रमुख आतिथ्यता रहेको प्रतियोगितामा झरना साहित्यिक परिवारका सल्लाहकार रमेशमोहन अधिकारी, उपाध्यक्ष तथा बालसाहित्य परिचालन समितिका संयोजक चिरञ्जीवी लामिछानेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतियोगितामा सहभागी ११ विद्यालयका विद्यार्थीमध्ये बकैया–३, हात्तीसुँडेस्थित बुद्ध माविका सुजन दाहाल र सुमिना दाहाल तथा महेन्द्र मावि, छतिवनका वसन्त गौतम उत्कृष्ट हुनुभएको छ । उत्कृष्ट हुने विद्यार्थीलाई अनुकूल समयमा भौतिकरुपमा कार्यक्रम गरेर पुरस्कृत गरिने उपाध्यक्ष लामिछानेले बताउनुभयो ।

बकैया गाउँपालिकालाई मूल थलो बनाई क्रियाशील परिवारले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियानअन्तर्गत् मकवानपुर जिल्लाभरका विभिन्न ६० विद्यालय तथा कलेजहरूमा पुगी काव्य प्रशिक्षण सम्पन्न गरिसकेको छ । यस्तै, गत वैशाखदेखि बकैया गाउँपालिकाअन्तर्गतका माध्यमिक तथा आधारभूत विद्यालयमा गठित बालसाहित्य समितिलाई सक्रिय राख्ने उद्देश्यले ‘बकैया फलोअप’ कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि वैशाख महिनादेखि नै बालसाहित्य समितिमा आवद्ध विद्यार्थीहरुबीच प्रतियोगितात्मक कार्यक्रम गरिएको अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।

बालसाहित्य समितिका विद्यार्थीलाई विधागत सचेतनासहित साहित्यमा कलम चलाउन सक्षम बनाउने उद्देश्यले भर्चुअल माध्यमबाट आगामी साउन पहिलो हप्तादेखि हरेक शनिबार दुई घण्टे विधागत साहित्यिक प्रशिक्षणसमेत दिइने अध्यक्ष गौतमले बताउनुभयो । झरना साहित्यिक परिवारले यसै वर्षदेखि मासिकरूपमा साहित्यिक कार्यक्रम गर्ने, भित्तेपत्रिका प्रकाशन गर्ने, विद्यार्थीका साहित्यिक रचनालाई विभिन्न सञ्चार माध्यममा प्रकाशन गरी विद्यार्थीको सिर्जनशीलता विकास गराउने योजना बनाएको छ । साथै, गाउँपालिकाको एउटा माध्यमिक र एउटा आधारभूत विद्यालयलाई ‘उत्कृष्ट सिर्जनशील विद्यालय’को रूपमा सम्मानित गर्ने योजनासमेत बनाएको उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।