हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले युवाहरुलाई कृषि पेशामा आकर्षित गर्न बिहीबार ६ जना किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । गाउँपालिकाभित्रै स्वरोजगारको अवस्था सृजना गर्ने र कृषि पेशामा संग्लन भएका व्यावसायिक र अर्धव्यावसायिक कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
कृषि पेशालाई सम्मानित र व्यावसायिक बनाउन उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन ल्याएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । निर्वाहमुखी कृषि प्रणाली र गैरकृषि क्षेत्रको तुलनामा कृषि क्षेत्रको न्यून आम्दानीका कारण कृषि क्षेत्र आकर्षिक र सम्मानित हुन नसकेका कारण कृषकलाई प्रोत्साहन गरिएको उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई उत्पादन, आम्दानी र रोजगारका माध्यमबाट आकर्षक क्षेत्रको रुपमा विकासमा स्थापित गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम अघि बढाएको चौधरीले जानकारी दिनुभयो ।
मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को कृषि विकास कार्यक्रममार्फत् गाउ“पालिकाभित्र विभिन्न क्षेत्रका उत्कृष्ट कृषकहरुलाई नगद ३० हजार रुपैयाँसहित उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरिएको छ । गाउँपालिकाले पीएसपी एग्रो प्रालि मकवानपुरगढी–३, मक्रान्चुलीका सञ्जय नेपाललाई बाख्रापालनतर्फ उत्कृष्ट कृषक घोषणा गरी पुरस्कृत गरेको छ । यस्तै, पाख्रिन एकीकृत कृषि तथा पशु फर्म मकवानपुरगढी–४ का सूर्यबहादुर पाख्रिनलाई गाईपालनतर्फको उत्कृष्ट किसानको रुपमा पुरस्कृत गरिएको छ । मखमली बाख्रा फर्म, मकवानपुरगढी–७, सुकौराका गोकुल लम्साललाई कुखुरा पालनतर्फ उत्कृष्ट किसानको रुपमा सम्मानित गरिएको छ ।
यसैगरी, तिमल्सिना कृषि तथा फलफूल फर्म मकवानपुरगढी–३, देवीडाँडाका बद्रीप्रसाद तिमल्सिनालाई तरकारी खेतीतर्फ पुरस्कृत गरिँदा चन्द्रसूर्य कृषि तथा पशुपक्षी फर्म, मकवानपुरगढी–८, बुढीचौरका सूर्यमाया दोङलाई प्लाष्टिक टनेलभत्र तरकारी खेतीतर्फबाट उत्कृष्ट कृषको रुपमा सम्मानित गरिएको छ । शितल कागती कृषक समूह मकवानपुरगढी–२ का वीरबहादुर स्याङ्तानलाई कागती खेतीतर्फ उत्कृष्ट कृषकबाट सम्मानित गरिएको छ ।
मकवानपुगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको हो । उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा उपाध्यक्ष हर्कमाया रुम्बा, वडा अध्यक्षहरु बखान सिंह पाख्रिन, भागवत घिमिरे, रामप्रसाद तिमल्सिना, दलित समन्वय समितिका उपाध्यक्ष मानकुमारी नेपालीलगायतको उपस्थिति थियो ।