बकैया–४ मा स्थापना गरिएको बकैया सार्वजनिक पुस्तकालय ।

बकैयाः पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरता तथा सहयोगमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बकैया सार्वजनिक पुस्तकालय स्थापना गरिएको छ । स्थानीय टोल विकास संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी शनिबार पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय अभियान समूहको अग्रसरता तथा सहयोगमा तीन वटा पुस्तकालय स्थापना भएका छन् । एक महिनाको अवधिमा यसअघि हेटौंडा–७, नागस्वतीमा समृद्ध पुस्तकालय र हेटौंडा–६ मा शान्ति पुस्तकालय स्थापना भइसकेको छ ।

पुस्तकालय अभियान समूहले हस्तान्तरण गरेको पुस्तकहरु ।

पुस्तकालय अभियान समूहले बकैया सार्वजनिक पुस्तकालय स्थापनाका लागि ५० हजार रुपैयाँ बराबरका १५१ थान पुस्तक हस्तान्तरण गरेको छ । पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारी र बकैया सार्वजनिक पुस्तकालयका सदस्य गोविन्द चौलागाईबीच पुस्तक हस्तान्तरणको कागजात आदानप्रदान गरिएको छ । बकैया सार्वजनिक पुस्तकालयका लागि किशोर पराजुली, श्याम मुडभरी, गोविन्द चौलागाई, दीपक गौतम, सुवास खड्का, शरण बानियाँ, हरेराम आचार्य, किशोरकुमार दंगाल, एस के निधन र राम मंग्रातीले जनही ५ हजार रुपैयाँका दरले योगदान गरेका हुन् ।

बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई पुस्तक हस्तान्तरण गर्नुहुँदै पुस्तकालय अभियान समूहका सदस्य समेत रहनुभएका वरिष्ठ पत्रकार प्रताप विष्ट ।

पुस्तकालय स्थापनाका लागि पहल गरेको भन्दै पुस्तकालय अभियान समूहका सदस्य किशोर पराजुली र श्याम मुडभरीले सहयोगी समूहको तर्फबाट समृद्धि टोल विकास संस्थाका अध्यक्ष परशुराम गौतम र बकैया–४ का वडा अध्यक्ष राजन दंगाललाई आभारपत्र प्रदान गरेका थिए । यस्तै पुस्तकालय अभियान समूहकै सदस्य एवम् वरिष्ठ पत्रकार प्रताप विष्टले बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।

पुस्तकालय स्थापनामा अग्रसरता देखाएको भन्दै आभारपत्र हस्तान्तरण गरिँदै ।

बकैया–४ स्थित समृद्धि टोल विकास संस्थाका अध्यक्ष परशुराम गौतमको अध्यक्षता तथा बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन कार्यक्रम भएको हो । पुस्तकालय उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले पुस्तकालय अभियानका लागि पालिकाबाट बजेट उपलब्ध गराउन समस्या नभएको बताउनुभयो । उपाध्यक्ष बोलखेले पुस्तकालय विस्तार तथा व्यवस्थापन गर्न भने चुनौति रहेको बताउनुभयो । जटिलता र चुनौतिका बीच पुस्तकालय स्थापना गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बकैया–४ का वडाअध्यक्ष राजन दंगालले पुस्तकालय स्थापना हुँदा समाजमा सकारात्मक शिक्षा प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो । पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनाका लागि सहयोग गरेर वडा कार्यालयलाई ऋणी बनाएको उल्लेख गर्नुहुँदै गाउँ सभाबाट पुस्तकालयका लागि गर्नुपर्ने कामका लागि उपयुक्त योजना बनाएर काम गर्ने वडा अध्यक्ष दंगालले बताउनुभयो । कार्यक्रममा पुस्तकालय अभियान समूहका सदस्य प्रताप विष्टले पुस्तकालय स्थापना र सञ्चालन कठिन कार्य भएको बताउनुभयो । उहाँले समुदायमा पुस्तकालयको महत्व बुझाउनुपर्ने बताउनुभयो । ज्ञानको भण्डारले सत्यको नजिक पुर्‍याउने विष्टले दावी गर्नुभयो ।

स्थानीय बेलप्रसाद दाहालले पुस्तकालय हरेक समाजमा सुधार केन्द्रको रुपमा आवश्यक रहेको औँल्याउनुभयो । उपयुक्त भौतिक विकास गर्न र त्यसको संरक्षण गर्न पढ्नुपर्ने दाहालको भनाइ थियो । बकैया–४ स्थित महेन्द्र माविका प्रधानाध्यापक दुर्गा पराजुलीले पुस्तक अध्ययनको अर्गानिक अभ्यास भएको उल्लेख गर्नुहुँदै पुस्तकालयको उपयोग गर्ने र अन्य वडामा पनि विस्तार गर्न अग्रसर हुने बताउनुभयो । झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले पुस्तकालयको स्थापना, प्रयोग र विस्तारमा बकैया गाउँपालिकालाई झरना साहित्यिक परिवारले सहयोग र सहकार्य गर्ने बताउनुभयो । पालिकास्तरमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने सहमति समेत भइसकेको अध्यक्ष गौतमले जानकारी दिनुभएको छ ।

पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारीले पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनासँगै उचित व्यवस्थापन र उपयोगिता अभिवृद्धिका लागि आगामी दिनमा थप समन्वय तथा सहजीकरणको काम गर्ने स्पष्ट पार्नुभयो । एक महिनाको अवधिमा तीनवटा पुस्तकालय स्थापना गर्ने क्रममा हेटौंडा उपमहानगर क्षेत्रमा २ वटा र बकैयामा एउटा पुस्तकालय स्थापना गरिएको जानकारी गराउनुहुँदै भण्डारीले आगामी दिनमा मकवानपुरका सवै पालिकामा पुस्तकालय स्थापना गरेर वडा वडा हुँदै टोल टोलसम्म पुर्‍याइने बताउनुभयो ।