हेटौंडाः पार्टी समायोजनको प्रक्रिया नै नभए पनि समायोजन भएको भनी नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएको भन्दै मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले ध्यानाकर्षण भएको जनाएको छ ।
मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का मकवानपुर जिल्ला अध्यक्ष हरिकृष्ण मैनालीले फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच पार्टी एकताको क्रममा जिल्लाबाट समायोजनको कुनै प्रक्रिया नभए पनि समायोजन भएको भन्दै २१ जनाले नेपाली कांग्रेसको क्रियाशील सदस्य प्राप्त गरेको विषयमा ध्यानाकर्षण भएको भन्दै शनिबार नेपाली कांग्रेस मकवानपुर र केन्द्रीय समितिलाई ध्यानाकर्षण गराएको छ ।
विभिन्न व्यक्तिहरु तत्कालिन फोरम लोकतान्त्रिकबाट नेपाली कांग्रेस पार्टीमा समायोजन भएर कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको भन्ने विषय मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) मकवानपुरको घोर आपत्ति भएको बताइएको छ । फोरम अध्यक्ष मैनालीले जिल्लाबाट समायोजनको प्रक्रिया नै नभएको उल्लेख गरे पनि नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले भने मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को केन्द्रीय समितिले सिफारिस गरेका व्यक्तिहरुलाई नै कांग्रेस मकवानपुरको सिफारिसमा क्रियाशील सदस्यता प्रदान गरिएको जानकारी दिनुभएको छ ।
फोरम लोकतान्त्रिकको केन्द्रीय समितिको सिफारिसमा २१ जनालाई कांग्रेस मकवानपुरले क्रियाशील सदस्यका लागि सिफारिस गरेको सभापति बानियाँले दावी गर्नुभएको छ ।