सम्झिँदै विभत्स दृश्य जस्तो लाग्ने
अकिञ्चन जीवन मेरो कहाँ लगी फालुँ ?
च्यातिसके सब अस्मिताका ध्वजाहरु
खै ? कुन साहसले म यसलाई टालुँ ।
नरोएकी होइन म त्यस क्षण पनि
भिजाई आफ्ना यी सुकोमल नयनहरु
शब्द फुटाई भन्न डर लाग्छ
काप्छन् थरथरी अझै यी अवनीहरु ।।
पीडा र आतङ्कले थिची कराएको
निष्ठुरी नङ्ग्राहरुले शरीर खोस्रँदा
दया गरी छोडेनन् यिनीहरुले
दुबै हात जोडी लाखौं पल्ट गर्दा ।।।
सपनाहरु त थिए मिठामिठा
टुक्रिएर पुगिसके सब क्षितिज पारी
बहले समाजले मप्रति हेर्ने दृष्टिकोण
किनकी म हुँ एक दुःखी बलात्कृत नारी ।