हेटौंडाः प्रदेशसभाका विपक्षी दलहरु एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसको अवरोधसँगै बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । विपक्षी दलहरुले प्रदेश सरकारले बजेटमा समावेश गरेका कार्यक्रम तथा योजनाको विरोध गर्दै शनिबारको प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले आइतबार बिहान ११ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको हो ।

प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफल प्रारम्भ भएलगत्तै विपक्षी दलका शीर्ष नेताहरुले आफ्नो भनाई राखेर बैठक अवरुद्ध पारेका छन् । प्रदेश सरकारले बजेट वक्तव्य नै दुईवटा प्रकाशन गरेको, आफैं सञ्चारगृह सञ्चालन गर्न बजेट छुट्याएको, तयारी नगरी सुरुङमार्ग र विद्युतीय बस सञ्चालनको विषय बजेटमा राखिएको भन्दै विपक्षी दलहरु माओवादी र कांग्रसलगायतले विरोध गरेका हुन् ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव राखेपछि माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सुरुङमार्ग निर्माण र विद्युतीय बस खरिद अहिले आवश्यक नभएको र यसका लागि तयारी नपुगेको भन्दै बजेटबाट हटाउन माग गर्नुभयो । प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्न खोज्नु आलोचनाको काममात्रै भएकोले रोक्न माग गर्दै स्थानीय तहमा जाने सशर्त अनुदान बजेट पूर्वाग्रही ढंगले विनियोजन गरेको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारले पूर्वाग्रही ढंगले बजेट विनियोजन गरेको भन्दै बजेट पुस्तिका नै दुई ढंगको ल्याउनुले थप शंका पैदा गरेकाले एउटै बजेट पुस्तिका नआएसम्म संसद अघि बढ्न नसक्ने बताउनुभयो । सरकार आफैले संचारगृह चलाएर नराम्रो कुरा पनि राम्रो भनेर प्रचार गर्न खोजिएकाले बजेट फिर्ता लिनुपर्नेमा नत्र प्रदेशसभा बैठक चल्न नदिने बताए । प्रदेश सरकार आफैंले सञ्चारगृह चलाउन खोज्नुको सट्टा स्वतन्त्ररुपमा चलिरहेका सञ्चारगृहलाई सहयोग गर्न आग्रह गर्दै प्रदेश सरकारले सञ्चारगृह स्थापनाका लागि विनियोजन गरेको बजेट फिर्ता लिन माग गर्नुभयो ।

बैठकमा विवेकशील साझा दलका सांसद रमेश पौड्यालले प्रदेश सरकारले बजेटका दुईवटा पुस्तिका ल्याएर संसदको अवहेलानास“गै अनधिकृत काम गरेको भन्दै मुख्यमन्त्रीको जवाफ माग गर्नुभएको छ । नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईंले कोभिड–१९ र बाढी पहिरोको मारमा परेका नागरिकलाई बजेटले समेट्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु पौड्याल र गोसाईं दुबैले प्रदेश सरकारले सञ्चारगृह चलाउने नीति तथा कार्यक्रमको बिरोध गर्नुभयो ।

प्रदेशसभाको विगतका बैठकहरुमा पनि माओवादी, कांग्रेसलगायत विपक्षी दलका सांसदहरुले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण तथा विद्युतीय बस खरिद गर्ने प्रदेश सरकारको योजनाको विरोध गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । प्रदेश सरकारले प्रदेश गौरबको योजनामा समावेश गरेर सुरुवातबाटै पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको योजना ल्याएको भएपनि कार्यान्वयनमा आउन सकेको छैन । पछिल्लो समय सुरुङमार्ग आवश्यक नभएको भन्दै बिरोध हु“दै आएको छ ।

यस्तै, प्रदेश सरकारले अघिल्लो वर्षदेखि नै कार्यान्वयनमा ल्याउन खोजेको विद्युतीय बस खरिद तथा सञ्चालनको योजना पनि आवश्यक तयारी पूरा नभएको भन्दै विपक्षी दलका सांसदहरुले बिरोध गर्दै आएका छन् । बागमती प्रदेश सरकारले आफ्नै लगानीमा सञ्चारगृह सञ्चालन गर्न आगामी वर्षको बजेटमा १० करोड रुपैया“ विनियोजन गरेकोमा पनि विपक्षी दलहरुले त्यसको विरोध गर्दै प्रदेशसभा बैठक नै अवरुद्ध गराएका हुन् । प्रदेश सरकारले आफैंले आम सञ्चारगृह सञ्चालन गर्ने योजनाको नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संघसंस्थाले पनि विरोध गर्दै आएका छन् ।