हेटौंडाः गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा सर्वाधिक चर्चा कमाएका अफ्रिकन खेलाडी मोसुके ओलुमोलाई आगामी असोज ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पनि देख्न सकिने भएको छ । सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी)ले मोसुकेसहित अर्का एक अफ्रिकन खेलाडीलाई अनुबन्धित गरेको छ ।
एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै एनएसएलमा काठमाडौं रेजर्स एफसीबाट खेलेका मिडफिल्डर मोसुके ओलुमो र फरवार्ड स्टेफेन समिरलाई अनुबन्धित गरिएको जनाएको छ । चार पटकको च्याम्पियन एनआरटीले नयाँ सिजनको ए डिभिजन लिगका लागि मोसुके र स्टेफेनलाई अनुबन्ध गरेको हो । एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने कोटा अन्तर्गत दुई खेलाडीसँग सम्झौता गरिएको जनाएको छ । अन्य खेलाडी अनुबन्धको प्रक्रिया अघि बढीसकेको समेत क्लबले जनाएको छ ।
मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । उनले प्रतियोगिताका ९ खेलमा एक ह्याट्रिक सहित ८ गोल गरेका थिए । उनी एनएसएलका उत्कृष्ट मिडफिल्डर समेत चुनिएका थिए ।