हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–७ मा पहिरोले घर तथा गोठ पुरिएको छ । निरन्तर रुपमा भइरहेको वर्षाका कारण ४ वटा घर तथा गोठ पहिरोले पुरिएको छ भने थप घरहरु पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी चौकी कान्द्राङ्बाट प्राप्त सूचना अनुसार राक्सिराङ–७, डकरीका सोम बहादुर प्रजाको घर पहिरोले पुरेको छ । यस्तै सोही वडाको धकाङ्टोल बस्ने बनैली माया प्रजाको घर पहिरोले बगाएको छ भने चरिमारा बस्ने बीर बहादुर सुनारको घर पहिरोका कारण भत्किएको छ । पहिरोका कारण मानवीय क्षति भने नभएको जनाइएको छ ।
राक्सिराङ–७ कै दुगुवाङ्का बुद्धिलाल प्रजाको गोठ र गोठमा रहेको तीन वटा गोरु पहिरोले बगाएको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन । यसैगरी राक्सिराङ–७ कै धिराङ् बस्ने ऋषिमाया प्रजा, राक्सिराङ् बस्ने फुर्ख बहादुर वालुवा थिङ, चन्द्र बहादुर स्याङ्तान, प्रताप सिन्तान र वारसलिङ् बस्ने सुक बहादुर प्रजाको घर पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।
पहिरोको जानकारी शनिबार बिहान ११ बजे प्राप्त भएपनि पहिरोको भएको स्थान प्रहरी चौकी कान्द्राङ्बाट ४/५ घण्टा पैदल पश्चिम–उत्तरतर्फ पर्ने र हाल पानी परिरहेको कारण उक्त स्थानमा जान नसकिने प्रहरीले जनाएको छ ।