पिप्ले युवा क्लबले निर्माण गर्दै गरेको प्याराफिट ।

हेटौंडाः पिप्ले युवा क्लबले हेटौंडा–५ क्याम्पाचौरमा निर्माण गरिरहेको प्याराफिट निर्माणका लागि १ करोड रुपैयाँ भन्दा बढी बजेट रकम प्राप्त हुने भएको छ । प्रदेश सरकार तथा स्थानीय सरकारबाट आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि १ करोड ५ लाख रुपैयाँ बजेट प्राप्त हुने भएको हो ।

हेटौंडाकै गौरवको योजनाको रुपमा मिनी रंगशालाको स्वरुप दिँदै निर्माण हुँदै गरेको प्याराफिट निर्माण सम्पन्न गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षलाई ७५ लाख रुपैयाँ छुटयाएको छ । यसैगरी बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्ले थप ३० लाख रुपैयाँ प्रदान गर्ने भएको हो । प्रदेश खेलकुद विकास परिषद्को सिफारिसअनुसार प्रदेश सरकारले प्रदान गरेको बजेटबाट क्याम्पा रंगशालालाई ३० लाख रुपैयाँ बजेट प्रदान गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।

हेटौंडामा खेल क्षेत्रको विकासका लागि प्रदेश र स्थानीय सरकारले सम्मानपूर्वक बजेट छुट्याएको भन्दै पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले आभार प्रकट गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा समेत प्रदान गरेको ४५ लाख रुपैयाँ बजेटबाट प्याराफिट निर्माण सुरु भएर यसलाई अगाडि बढाउन थप बजेट विनियोजन हुँदा काम गर्न हौसला मिलेको उहाँको भनाई रहेको छ । चालु आर्थिक बर्षमा उपमहानगरपालिकाले प्रदान गरेको बजेटबाट प्याराफिटको हात्तिपाइले जग हाली ४ फिट अग्लो पिल्लर उठाइसकेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षको बजेट अनुसारको काम भइसकेकाले आगामी आर्थिक बर्षको बजेटबाट थप काम सुरु गर्न भने भदौ महिनासम्म कुर्नुपर्ने उहाँले बताउनुभयो । हाल वर्षाका कारण तथा बजेट निस्कासन हुन साउन महिना लाग्ने भएकाले गर्दा पनि भदौ महिनादेखि मात्र प्याराफिट निर्माण अगाडि बढाउन सकिने घिमिरेले जानकारी दिनुभयो ।