हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा र काठमाडौं जोड्ने सबै बाटो अवरुद्ध बनेको छ । निरन्तर भइरहेको वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–भैसे सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका वडा नं. १ बाघझोरा खोलामा लेदोसहितको पानीको बहाव बढेकोले बाटो पूर्णरुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी चौकी भैंसेबाट ५ किलोमिटर दक्षिण पर्ने बाघझोरामा सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ जानबाट रोकिएका सवारी साधनहरुको लाइन शनिबार बिहान १० बजे हेटौंडा–१ चौकीटोलसम्म आइपुगेको छ ।
यस्तै हेटौंडा–भैंसे सडक खण्डअन्तर्गत भीमफेदी–१ बाघझोरा, भैंसे–भीमफेदी–फाखेल र सिस्नेरी सडकखण्ड अन्तर्गत भीमफेदी–२ पान्द्राङ, भीमफेदी–६ गढी, देउराली, ईन्द्रसरोवर–४ महालक्ष्मी खोला, ईन्द्रसरोवर–२, कुलेखानी लगायतका स्थानमा पहिरो गएका कारण सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । त्रिभुवन राजपथ (भैंसे–पालुङ–नौबिसे सडकखण्ड) अन्तर्गत नै भीमफेदी–९ अघोर, थाहा नगरपालिका–६, खानीगाउँ तथा थाहा नगरपालिका–१२, गैरीगाउँमा समेत पहिरो खसेको छ ।
भीमफेदी–९, अघोरमा खसेको पहिरो पन्छाई एकतर्फी बाटो सुचारु भएको छ । यसैगरी कान्तिलोकपथ अन्तर्गत भीमफेदी–८ कोगटेमा पहिरोले पिच नै बगाएको तथा ललितपुरको भट्टेडाँडा क्षेत्रमा समेत पहिरो गएको प्रहरी निरीक्षक दासले बताउनुभयो ।