कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः गजल मञ्च मकवानपुरको १७९ औं गजलयात्रा तथा गजल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जुम एपमार्फत् आइतबार भएको कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई गजल प्रशिक्षण दिइएको थियो ।

मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीएम रिमाल, गजलकार धर्मराज स्याङ्तान, हरि पौड्याल, विशाल अधिकारीलगायतले गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा मञ्चका सचिव केशव समर्पणले विद्यार्थीहरुलाई गजल लेखनका आधारभूत प्राविधिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो । समर्पणले गजलको परिभाषा, तत्वहरु, संरचना, प्रकारलगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी दिनुभएको हो ।

गजल प्रशिक्षणमा करिब ४० जना विद्यार्थीले सहभागिता जनाएका थिए । गजल लेखनबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको सहभागी श्रद्धा बरालले बतानुभयो । गजलका बारेमा जानकारी हासिल गरेसँगै लेखन कार्यमा सक्रिय हुने अर्का सहभागी स्नेहा रिमालले बताउनुभयो । यस्तै, प्रवेश बजगाईंले गजल मञ्चले गर्ने नियमित तथा आकस्मिक कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गजल मञ्च मकवानपुरले हरेक महिना गजल यात्राको श्रृंखलालाई निरन्तरता दिँदै आएको छ । अबको दिनमा प्रत्येक महिना कुनै न कुनै विद्यालयमा गएर प्रशिक्षण दिने योजना रहेको अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।