हेटौंडाः मकवानपुरका १० वटै स्थानीय तहले आज बिहीबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि असार १० गते स्थानीय तहहरुले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । यसअघि असार १ गते बागमतीलगायतका सबै प्रदेश सरकार र जेठ १५ मा संघीय सरकारले बजेट प्रस्तुत गरिसकेका छन् । मकवानपुरका १० स्थानीय तहलाई प्रदेश तथा संघीय सरकारले ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।
मकवानपुरमा सबैभन्दा बढी बजेट हेटौंडा उपमहानगरले प्रस्तुत गर्ने भएको छ । हेटौंडा उपमहानगरले अगामी वर्षको लाग २ अर्बको हाराहारीमा बजेट प्रस्तुत गर्नेछ । यस्तै मकवानपुरको पूर्वी बागमती र बकैया गाउँपालिकाले ३० करोडदेखि ४० करोड रुपैयाँको बीचमा बजेट प्रस्तुत गर्दैछन् । राक्सिराङ र मनहरीले ५० करोडभन्दा माथि बजेट ल्याउने तयारी गर्दा कैलाश र ईन्द्रसरोबरले पनि ३० करोडमाथि बजेट प्रस्तुत गर्ने बताइएको छ । भीमफेदी गाउँपालिकाले पनि ४० करोडको हाराहारीमा बजेट ल्याउँदैछ । भने थाहा नगरपालिकाले ७० करोड हाराहारीमा बजेट ल्याउने जनाइएको छ ।
स्थानीय तहले भौतिक पूर्वाधार, सडक, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतलाई प्राथमिकतामा राखेका छन् । अधिकांश स्थानीय तहले पूर्वाधारलाई बढी बजेट विनियोजन गरेको जानकारी दिएका छन् । जिल्लाको उत्तरी क्षेत्रको ईन्द्रसरोबर गाउँपालिकाले बिहीबार बजेट सार्वजनिक गर्ने भएकाले गाउँपालिका तथा वडाबाट प्रवाह हुने सेवा बन्द गरेको सूचना जारी गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनुभयो ।