हेटौंडाः भर्चुअल माध्यमबाट आयोजना भएको नवोदय सिङ्गीङ स्टारमा उत्कृष्ट तीन विद्यार्थी छनौट भएका छन् । सोमबार भएको ६ जना प्रतिस्पर्धीबीचको फाइनल राउण्डमा चिराग डंगोल, आशुतोष पोखरेल र आयुश खरेल उत्कृष्ट नवोदय सिङ्गीङ स्टार घोषित हुनुभएको हो । प्रतियोगितामा सामाजिक सञ्जालमार्फत् भोटिङ र निर्णायकको नतिजाको आधारमा उत्कृष्ट तीन विद्यार्थी छनौट गरिएको हो । प्रतियोगितामा निर्णायकद्वय गायिका सुनिता शर्मा लुईंटेल र गायक तथा सङ्गीतकार रमेश तिमल्सिना रहनुभएको थियो ।
४० जना विद्यार्थीहरु सहभागी भएको प्रतियोगिताको विभिन्न छनौट पार गर्दै फाइनल राउण्डसम्ममा उत्कृष्ट तीनसँगै समृद्धि बास्ताकोटी, विपिसा रुवाली, आरुष चौलागाईं पुग्नुभएको थियो । विद्यालयको क्रियटिभ आर्टतर्फका सङ्गीत शिक्षक प्रलय चौलागाईं र अश्विन थिङको समन्वयमा कार्यक्रम भएको हो ।
विद्यालयका निर्देशक दीपेश जोशीले हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिने बताउनुभयो । प्रतियोगिताले विद्यार्थीहरुको लुकेको प्रतिभा उजागर गर्ने भएकाले हरेक वर्ष नवोदय सिङ्गीङ स्टार कार्यक्रम सञ्चालन गर्ने जोशीले जानकारी दिनुभयो । उत्कृष्ट छनौट भएका तीनजना विद्यार्थीलाई पुरस्कार प्रदान गरिनेछ ।